News and Events

सेवा बेचेर जीवन चलाउँदै

दैनिक प्रचलनमा के के कुराको किनबेच हुन्छ होला ? सामान्यतयाः व्यापारीले पैसा लिएर कुनै बस्तु बेचेको त हामीले देख्दै, भोग्दै आएकै हो । स्वास्थ्य, शिक्षा जस्ता सेवामूलक व्यवसाय फस्टाएको पनि देखिएकै छ । तर, सुर्खेतमा समेत व्यवसायिक परामर्श दिएर (बेचेर) मासिक ५० हजार रुपैँयासम्म आम्दानी गर्न सकेका युवाको सफलताको कथा रोचक मात्रै होइन अपत्यारिलो समेत छ ।
दुल्लु–१० गमौडी, दैलेखका सुरेन्द्रकुमार शाही (३५) ले आफू जमिरहेको नेटवर्किङ्ग व्यवासय बन्दभएपछि बिजुली पसल खोलेर मनग्य कमाई गरी आफ्नो र परिवारको भविष्य बिजुलीको प्रकाश जस्तै चम्काउने उनको अर्को सपना पनि हुरीले उडाइदियो । आफूले चाहेको गतिमा जिन्दगीको गाडी कुदाउने राजमार्गमा अवरोध नै अवरोध देखेपछि मध्यपश्चिमका धेरै युवाले जस्तै उनले पनि अगाडीको यात्रा भारततिर मोड्न खोजे । तर ठ्याक्कै त्यही समयमा  उनले पाएको व्यवसायिक योजना निर्माण र प्रस्ताव लेखन तालिम भने जिन्दगीको ट्रर्निङ्ग प्वाइन्ट बन्यो । 
अध्ययनको लागि सुर्खेत आएका उनले अनेक हन्डर खाँदै चार वर्ष अघि उच्च मूल्य कृषि बस्तु विकास आयोजनाको व्यवसाय विकास सेवा प्रदायक बनेपछि अहिले भने आरामसँग वार्षिक रु ६ लाख कमाइ गरिरहेका छन् ।
यही सेवा प्रदान उनको जीवन चलाउने आधार बनेको छ । ‘बिजुलीको पसल पनि खासै चलेन,’ उनी भन्छन्, ‘त्यसपछि भारततिर जाने योजनामा थिएँ, तर व्यवसायिक योजना निर्माण र प्रस्ताव लेखन तालिमले मेरो जीवन बदल्यो ।’अध्ययनको क्रममा २०६० सालमा सुर्खेत आएका शाहीले नेटवकिङ्ग व्यवसायीको रुपमा पाँच वर्ष स्वास्थ्य र सौन्र्दय ९ज्भबतिज बलम द्यभबगतथ० का सामान बेचे । तर २०६८ सालमा नेटवकिङ्ग व्यवसाय बन्द भएपछि उनको आयआर्जनको बाटो रोकियो । ‘ठूल्ठूला सपना देखाएर व्यापार गरियो, एक्कासी व्यवसाय धरासायी भएपछि दुई वर्षसम्म गुमनाम झंै बसें,’ उनी भन्छन्, ‘धेरै साथी विदेश पलायन भए, तर मैले नेपालमै केही गर्नुपर्छ भनेर बिजुली पसल खोलें, त्यो पनि वर्षदिन नपुग्दै बेच्नुपर्यो । मेरो स्वभावसँग मेल खाएन ।’
त्यसपछि विदेश जाने प्रयास पनि सफल भएन । भारत जाने तरखरमा रहेका बखत उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले प्रदान गरेको व्यवसायिक योजना निर्माणसम्बन्धी तालिम लिने अवसर मिल्यो । ‘त्यो तालिमले नै मेरो जीवन बदल्यो,’ उनी भन्छन् । तालिम लिएपछि आयोजनाको सेवा प्रदायक भए । विभिन्न समूह–सहकारीका व्यवसायिक योजना निर्माण गरिदिए । ‘त्यसपछि आर्जन हुन थाल्यो, अब मेरा निराशाका दिन हराए,’ उनले थपे, ‘यदि एचभीएपीले ‘प्लेट फर्म’ नदिएको भए, अहिले सायद भारतको कुनै ठाउँमा मजदुरी गरिरहेको हुन्थें ।’  
तालिम लिएपछि २०७२ सालमा करुणा व्यवसायिक परामर्श तथा तालिम केन्द्र दर्ता गरेका उनी अहिले यही केन्द्रमार्फत सेवा प्रदान गर्छन । उनले विभिन्न समूह, सहकारी र व्यक्तिको व्यवासायिक योजना निर्माण गर्ने, संस्थाका विधान, विनियम बनाइदिने, कम्पनी दर्ताको लागि आवश्यक प्रवन्ध पत्र ⁄ नियमावली बनाइदिने, कर, भ्याटसम्बन्धी कागजपत्र तयार गरिदिने, उत्प्रेरणामुलक तालिम, क्षमता विकास, नेतृत्व विकाससम्बन्धी तालिम दिने काम गर्दै आएका छन् । यसैबाट हुने आम्दानीले परिवारको जिविकोपार्जन भइरहेको उनले बताए ।
व्यवसायिक योजना बनाएर उनले पहिलो पटक १५ हजार रुपँैया कमाएका थिए । ‘सेवा बेच्न भने त्यति सजिलो छैन । सेवा किन्नुपर्छ भन्ने मान्छेहरुको आदत छैन । शुरुशुरुमा धेरै समस्या भयो,’ शाहीले भने, ‘पहिला योजना बनाउने तर पैसा नदिने प्रवृत्ति थियो । अहिले यस्तो प्रवृत्तिमा विस्तारै कमी आएको अभुवन गरेको छु ।’
सेवा बेचेर उनले घरखर्च चलाउनेदेखि छोराछोरी पढाउनेसम्मको खर्च जुटाउँदै आएका छन । सुरेन्द्रकी छोरी सम्पदा बीरेन्द्रनगरका श्रीकृष्ण संस्कृति तथा साधारण माध्यामिक विद्यालयमा ९ कक्षामा र छोरा सुसन्देश नवज्योति माध्यामिक विद्यालयमा ६ कक्षामा पढ्दैछन । ‘आफ्नो जनसम्पर्कलाई व्यवसायमा रुपान्तरण गरेपछि सफल हुदैं गएको छु,’ उनले भने, ‘पहिले संर्घष अनुसारको प्रतिफल पाइँदैनथ्यो, अहिले पाइएको छ, यसैमा खुशी छु’ उनी भन्छन् । थप १५ वर्षसम्म यही व्यवसायमा सक्रियताका साथ काम गर्ने र त्यसपछि आध्यात्मिक कार्यमा समर्पित हुने उनको योजना छ ।
कामको खोजीमा विदेश भौंतारिने युवालाई उनी क्षमताको पहिचान गरेर स्वदेशमै केही गर्न सुझाव दिन्छन । ‘हाम्रा पुर्खाले स्वदेशमै सुखसँग जीवन बिताएका थिए । स्वस्थ र खुशी पनि थिए,’ उनको जीवन जिउने सूत्रले भन्छ, ‘हामी मात्र पैसाको लागि भन्दै किन विदेश जाने ? आफूमा भएको सीप र क्षमताको पहिचान गरी व्यवहारमा लागू गर्न सकियो भने गाउँमै लाखौं कमाइन्छ । सुखसँग जीवन बिताउन सकिन्छ ।’(प्रकाश पन्त/HVAP)