News and Events

खोर्केमा नेट प्रविधि

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–४, खोर्केका किसान आधुनिक प्रविधिको प्रयोग गरी व्यासायिक तरकारी खेतीमा आकर्षित भएका छन् । यसले थोरै लगानी र मिहिनेतमा बढी आम्दानी दिएको छ ।
नेट प्रविधि प्रयोग गर्दै आएकी डम्बरी पौडेलले किराबाट जोगाउन, गुणस्तरीय तरकारी फलाउन र लागत खर्च कम गर्न यसले सघाएको बताइन् । उनी एक दशकदेखि तरकारी खेतीमा छिन् । उनले दुईवटा फलामका स्थायी टनेल बनाएकी छिन् । किरा छिर्न नमिल्ने गरी टनेललाई जालीले बेरिएको छ । तापक्रमलाई नियन्त्रण गर्नको लागि ग्रिननेट राखिएको टनेलमा पौडेलले टमाटर लगाएकी छिन् ।
टनेलमा लगाइएको टमाटरको जरामा थोपा प्रबिधिबाट सिँचाई हुन्छ । यसरी उत्पादित तरकारीले राम्रो मुल्य पाउने उनको अनुभव छ । ‘खुला र बाँसको अस्थायी टनेलको तुलनामा यसरी बनाइएको टनेलभित्र खेती गर्दा बढी फल्छ,’ उनले भनिन्, ‘त्यही भएर मैले आजकल नेट प्रविधिको टनेल बनाएकी छु ।’
पहिला एक सिजनमा २५÷३० हजार रुपैयाँ आम्दानी हुन्थ्यो । अहिले एक सिजनमै करिब एक लाख रुपैयाँ आम्दानी हुन्छ । यसले गर्दा ६ महिना अघिसम्म खुला ठाउँमा तरकारी लगाउँदै आएकी उनलाई प्रविधि केन्द्रित गरेको हो ।
आधुनिक प्रविधिमा उच्च मुल्य कृषि विकास आयोजनाले सहयोग गरेको छ । खोर्केमा रहेको शितल कृषि तथा पशुपालन समूहमा आवद्ध २० जना किसानलाई आयोजनाले नेट प्रविधिको लागि १८ लाख २५ हजार रुपैयाँ अनुदान दिएको छ । किसानले पनि आप्mनो तर्फबाट ८ लाख ४१ हजार रुपैयाँ लगानी गरेका छन् । आयोजनाको सहयोगपछि किसानले १८ मिटर लम्बाई र ६ मिटर चौडाई भएको टनेल निर्माण गरी तरकारी लगाएका छन् ।
नेट प्रविधि भित्याएपछि तरकारी खेती गर्न निकै सजिलो भएको किसान रम्बा पन्त गिरीले बताउँछिन् । ‘खुला रुपमा तरकारी लगाउँदा किराले हैरान पाथ्र्यो, सिँचाईको लागि बारीभरि कुलो चार्नु पर्दा पानी पुग्दैन्थ्यो,’ उनले भनिन्, ‘अहिले त सबै समस्याबाट हाइसन्चो भएको छ ।’ तापक्रम नियन्त्रण, थोपा सिँचाई, मल्चिङ प्लास्टिकको प्रयोग र कीरा छिर्न नपाउने भएकाले यो प्रविधि व्यावसायीक तरकारी खेतीका लागि निकै उपयोगी भएको उनले बताइन् ।
नेट प्रविधियुक्त तीनवटा टनेल बनाएकी उनले एक सिजनमा एउटा टनेलबाट कम्तीमा ५० हजार रुपैयाँ आम्दानी गर्छिन् । पाँच रोपनीमा तरकारी खेती गरेकी उनले तरकारीकै आम्दानीबाट घरखर्च धान्नुका साथै छोराछोरीलाई राम्रो पढाईको प्रबन्ध मिलाएकी छन् । समूहमा आवद्ध किसानले यो प्रविधिको प्रयोगपछि वर्षमा कम्तीमा पनि ५० हजार देखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका समूहका कोषाध्यक्षसमेत गिरीले बताइन् ।
नेट प्रविधिको प्रयोगले झन्झट कम र आम्दानी बढी हुने भएकोले किसान परम्परागत खेती छाडेर यसतर्फ आकर्षित भएका आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले बताए । उनका अनुसार बेमौसमी तरकारी खेतीको लागि आयोजनाले सुर्खेतसहित आयोजना लागु भएका दैलेख, जाजरकोट, सल्यान, कालिकोट, जुम्ला र अछाम जिल्लाका किसानलाई यो प्रविधि अपनाउन सहयोग गरेको छ ।(प्रकाश पन्त/HVAP)