News and Events

जागिर छोडेका ढोलेको, सफलताको कथा

युवाहरुको सबैभन्दा ठूलो सपना हुन्छ– राम्रो जागिर खाने । जाजरकोट, भेरी नगरपालिका–६, भेरेका ढोले घर्तीको लागि भने आमयुवा सपनाका अपवाद हुन् । त्यसैले त उनले २०७५ वैशाखमा मासिक २२ हजार रुपैयाँ थाप्ने शिक्षकको आकर्षक जागिर छाडे ।
किन त ?यही प्रश्नको उत्तर खोज्ने क्रममा भेटिन्छ ढोलेको सफलताको कथा । उनी व्यावसायक तरकारी खेती गर्नको लागि जागिरबाट अलग्गिए । छोटो समयमै उनले जागिरभन्दा दोब्बर बढी आम्दानी गर्न सफल भएका छन् । २०६१ देखि गाउँकै लक्ष्मी माध्यमिक विद्यालयमा निमावि शिक्षक रहेका उनी भन्छन्, ‘मिहिनेत र लगनशील भएर काम गर्ने हो भने जागिरभन्दा धेरै कमाउन सकिँदो रहेछ, जो मैले अनुभूती गरेको छु ।’
शिक्षक हुँदै तरकारी खेती गरिरहेका ढोलेले अहिले २३ रोपनी जग्गामा व्यावासायिक तरकारी खेती गरिरहेका छन् । एक रोपनीमा किबी र तीन रोपनीमा अलैंची लगाएका छन् । बाँकी १५ रोपनी खेतबारीमा मकै, गहुँ खेती गर्छन् । तीनवटा फलामका पक्की र ९ वटा बाँसका कच्ची गरी १२ वटा टनेलमा उनी बाह्रै महिना तरकारी उत्पादन गर्छन् । उनले तीनजनालाई रोजगारी दिएका छन भने सिजनकोब बेला दैनिक पाँच सय रुपैयाँमा ८÷१० जनालाई ज्यालादारी काम दिने गरेका छन् ।
उनको मिहिनेत कम्ती प्रेरणादायी छैन । उनी आपैm तरकारी बोकेर खलंगा बजार जान्छन् । सडक सुविधा नभएकोले तीन घण्टा डोकोमै बोकेर तरकारी बजार लैजानु पर्ने बाध्यता उनी सुनाउँछन् । तरकारीबाट एक सिजनमा चार–पाँच लाख रुपैयाँ कमाइ हुन्छ । वर्षमा कम्तीमा १२ लाख रुपैयाँ आम्दानी हुन्छ । सबै खर्च कटाएर ६ लाख रुपैयाँ बचत गर्छन् । ‘अब भन्नुस्, जागिर ठूलो कि व्यवसाय ?’ उनको यो प्रश्नले रोजगारीको लागि भौतारिइरहेका युवा जमातलाई साँच्चिकै सोच्न बाध्य तुल्याउँछ ।
ढोलेले तरकारीको आम्दानीबाट पाँच छोराछोरीलाई उच्च शिक्षासम्म पढाइरहेका छन् । जेठो छोरा रामचन्द्र अहिले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्दैछन् । माइलो छोरा बशन्त शंकरदेव क्याम्पसमा स्नातक तहमा पढ्दैछन् । जेठी छोरी दानिकाले कृषि जेटिए र कान्छो छोरा गणेशले भेटेनरी जेटिए पढेर सकेका छन् । कान्छी छोरी इशा भने खलंगामा रहेको कस्तुरी बोर्डिङमा  पढ्दैछन् । 
उनी आप्mनो सफलतामा उच्च मुल्य कृषि बस्तु आयोजनाको देन रहेको बताउँछन् । आयोजनाले हौसला र सहयोग प्रदान गरेपछि व्यावसायिक तरकारी खेतीमा उर्जा मिलेको उनको भनाइ छ । ढोले  आयोजनाका निजी सेवा प्रदायकसमेत हुन् । आयोजनाले उनलाई बाली संरक्षण, माटो परीक्षण, रोग किरा व्यवस्थापन, बिमासम्वन्धी बिभिन्न तालिमहरु दिएको छ । तालिम लिएपछि उनले गाउँमै इशा एग्रोसेन्टर खोलेर गाउँलेलाई सेवा दिइरहेका छन् । यसबाट वर्षमा थप एक लाख रुपैयाँ आम्दानी गर्छन् । १४ वर्षसम्म शिक्षकको जागिरमा रुमल्लिएका उनी अहिले पछुताएका छन् । ‘उतिबेलै जागिर खानतिर नलागेर तरकारी खेतीमा लगाएको भए अहिले कहाँ पुगिसक्थेँ,’ उनले भने, ‘तर केही छैन, ढिलै भए पनि सन्तुष्टि पाइरहेको छु ।’
यात्रा यसरी सुरु भयो 
२०५८ सालमा ढोले ‘प्लस टु’ को परीक्षा दिए कामको खोजीमा कालापहाड (भारत) गए । हिमाञ्चल प्रदेशको सिमलामा उनले तीन महिना जति एउटा तरकारी फर्ममा काम गरे । तरकारी फर्मबाट निकै प्रभावित भए । घर फर्केर बारीमा तरकारी लगाउन सुरु गरे । सुरुको चार÷पाँच वर्ष घरमै खाने गरी तरकारी लगाए । २०६१ सालमा गाउँकै विद्यालयमा जागिर पाए । शिक्षकको जागिर पाए पनि उनले तरकारी लगाउन छाडेनन्, बरु बढाउँदै लगे । विद्यालयबाट बचेको समय उनले तरकारीलाई दिन थाले । व्यावसायिक रुपमा तरकारी खेती थालेको पहिलो वर्ष २०६५ सालमा उनले एउटै टनेलबाट ३५ हजार रुपैयाँ आम्दानी गरे । त्यो आम्दानीबाट निकै हौसिएका उनले तरकारी व्यवसायलाई निरन्तरता दिँदै आएका छन् ।
भेरे गाउँमा ढोले र पूर्णबहादुर खत्री तरकारी खेती गर्ने पहिलो किसान हुन् । खत्री पहिले नै सुर्खेतको छिन्चुमा बसाई सरिसके । त्यसपछि गाउँलाई तरकारीतर्फ उन्मूख गराउने जिम्मेवारी ढोलेको काँधमा आइलाग्यो । उनले आपूmसँगै गाउँलेलाई पनि तरकारी खेती गर्न प्रेरित गरिरहेका छन् । उनकै प्रेरणाले गर्दा अहिले भेरेका दुई सय ८० घरमध्ये करिब दुई सय घरपरिवारले व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका छन् । भेरेगाउँले तरकारीबाट मात्रै वर्षमा करिब एक करोड रुपैयाँ भित्र्याउँछ ।
किसानलाई संगठित गर्न उनले २०६१ सालमा लालीगुँरास ताजा तरकारी कृषक समूह गठन गरे । उनकै पहलमा भेरेगाउँमा अहिलेसम्म ३२ वटा तरकारी कृषक समूह गठन भएका छन् ।  ३२ वटै समूहलाई मिलाएर  उनले २०७२ सालमा रातोपाण्डा युवा कृषि सहकारी गठन गरे । अहिले उनी सहकारीको अध्यक्ष छन् । सहकारीमा दुई सय १० जना शेयर सदस्य छन् । सहकारीका आफ्नै दुई वटा भवन छन् । उनी भन्छन– ‘इच्छाशक्ति भए असम्भव भन्ने केही छैन ।’
ढोले जाजरकोटका उत्कृष्ट किसान पनि हुन् । उत्कृष्ट किसानको रुपमा उनले प्रथम राष्ट्रपति पुरस्कारसहित थुप्रै पुरस्कार र सम्मान पाएका छन् । कर्णाली प्रदेश सरकारले पनि उनलाई उत्कृष्ट किसानको रुपमा चीनको भ्रमण गराएको छ । १० दिनको भ्रमणमा कृषिमा चीनले गरेको लगानी, तरकारी खेतमा प्रयोग गरिएको प्रविधि, हाइटेक नर्सरी देखेर उनी दंग भएको अनुभव सुनाउँछन् । अब उनको एउटा सपना छ– भेरेगाउँलाई कर्णाली प्रदेशको नमुना तरकारी गाउँ बनाउने । (प्रकाश पन्त/HVAP)