News and Events

आलुमा उन्नत प्रविधि

जुम्लाको पतारासी–७ रिनी गाउँकी एकबर्ष यता फम्फा बुढा खेत जोत्न पावर ट्रेलर मात्रै होइन, आलु रोप्ने डयाम बनाउन र ग्रेडिङ गर्न मेसिनको प्रयोग गर्नुहुन्छ । यसरी आलु लगाउँदा उत्पादन पनि बढेको छ । यो उन्नति प्रविधिको प्रयोग गर्ने उहाँ मात्र एक्ली होइन । रिनी गाउँका सबै किसानले आलु खेतीमा उन्नत प्रबिधि अपनाएका छन । उन्नति प्रविधिको प्रयोग गर्दा अधिकांशले उत्पादन एक तिहाई बढेको बताएका छन । तीन रोपनीमा आलु र तरकारी खेती गर्दै आइरहेकी फम्फाले भन्नुभयो, ‘उन्नत प्रविधिले उत्पादन मात्रै बढेको छैन, गुणस्तरमा पनि बृद्धि भएको छ।’ खेतीमा उहाँ जैविक मल प्रयोग गर्नुहुन्छ । 
रिनीकै मष्टा तरकारी तथा फलफूल समूहमा आवद्ध किसानले पनि फम्फालाई पछ्याएका छन । तिनीहरूले पनि आलु खेतीमा उन्नत प्रविधि अप्नाएका छन । समूहकी अध्यक्षसमेत रहकी फम्फाले आलु र ताजा तरकारी उत्पादनबाट वार्षिक पाँच लाखभन्दा बढी आम्दानी भएको बताउँनु भयो । उहाँले भन्नुभयो, तरकारीकै आम्दानीले जुम्लाको सदरमुकाम खलंगा बसपार्क र उर्थु बजारमा घडेरी किन्न सफल भएकी छु । परम्परागत विधिबाट खेती गर्दा मुस्किलले दुई लाख आम्दानी हुने गरेको उहाँको भनाइ छ । गाजर, मुला, काउलीलगायत तरकारी खेती गरिरहेकी उनले एक छोरालाई कर्णाली प्राविधिक शिक्षालयमा फरेस्ट्री र २ छोरीलाई जुम्ला सदरमुकामै प्लस टु पढाइरहनु भएको छ । 
रिनी गाउँकै महादेव बीउ बैंक कृषक समूहकी अध्यक्ष सुवा खड्काले उन्नत प्रविधिले गुणस्तरीय तरकारी उत्पादनमा सहयोग पुगेको बताउँनु भयो । २८ सदस्यीय समूहले पीबीएस प्रविधिबाट बीउ उत्पादन गर्दै आइरहेको छ । ‘ठूला दाना तरकारीका लागि बिक्री गर्ने र अरू बीउ उत्पादनमा प्रयोग गर्ने गर्ने गरेका छौं, उहाँले भन्नुभयो, ‘गाउँमै बीउ उत्पादन भएपछि आलु खेतीमा सजिलो भएको छ । उहाँले ५० क्विन्टल आलु र २५ क्विन्टल बीउ उत्पादन गरेको बताउँँनुभयो । बीउ उत्पादन र तरकारीबाट तीन लाख ५० हजार आम्दानी गर्दै आइरहेको उहाँको भनाइ छ । उहाँका दुई छोरा जागिरे छन भने एक छोरा काठमाडौंमा कमर्स अध्ययन गरिरहेका छन । तरकारी उत्पादनको कमाइबाट उर्थु बजारमा दुईवटा घर किने पनि उहाँले बताउँनुभयो ।
कुन्थबाडा बीउ आलु उत्पादन समूहकी भदुरी बुढाले ५ रोपनीमा जग्गामा आलु खेती गर्नु भएको छ । आलु खेतीबाट वार्षिक चार लाख आम्दानी हुने गरेको उहाँले बताउँनु भयो । आलुको आम्दानीले घरको सबै खर्च धानेर दुई छोरा र एक छोरीलाई पढाउन समेत पुगिरहेको छ । सवै खर्च कटाएर वार्षिक २ लाख बढी रकम बचत भइरहेको पनि उहाँले बताउँनु भयो । गत वर्ष समूह मार्फत २० क्विन्टल आलुको बीउ उत्पादन भएको अध्यक्ष बुढाको भनाइ छ । उहाँको समूहमा २५ कृषक आबद्ध छन । आधुनिक प्रविधिबाट खेती गर्दा उत्पादन पनि किसानको भनाइ छ । 
उच्च मूल्य कृषिवस्तु विकास आयोजनाले कृषलाई ५० प्रतिशत र समूहलाई ८५ प्रतिशतका दरले विभिन्न अनुदान दिएपछि किसानले उन्नत प्रविधिबाट खेती गरिरहेका छन । आयोजनाले रिनी गाउँमा ५वटा  सिँचाइ पोखरी निर्माण गरिएको छ । रिनी गाउँमा करिब ४८ लाखको सामग्री आयोजना मार्फत प्रदान गरिएको छ । रिनीका सबै कृषक समूहको नेतृत्व महिलाले नै गरिरहेका छन ।  घरमै व्यापारी किन्न आउने भएकाले बजारीकरणमा पनि समस्या नभएको कृषकले बताए । 
व्यापारी गाउँमै आए १८ रुपैयाँ र बजारमा आलु पुर्याए प्रतिकिलो २० रुपैयाँमा बिक्री गरिरहेको कृषक चटुकला बोहराले बताउँनु भयो । समूह मार्फत खुमल सेतो जातको आलुको बीउ गाउँमै उत्पादन भइरहेको छ । ‘परम्परागत विधिबाट खेती गर्दा बीउ खेर जाने, राम्ररी नउम्रने, आलु खन्दा चोट लाग्ने, गेडिङ नहुँदा गुणस्तरीय आलु नछुट्टिने गायतका समस्या थियो, चुटकलाले भन्नुभयो, ‘आधुनिक प्रविधिबाट खेती सुरु भएपछि आम्दानी पनि दोब्बर वृद्धि हुन थालेको छ । (प्रकाश पन्त/HVAP)