News and Events

‘सडकको विकल्प ‘रोप–वे’

तिलागुफा नगरपालिका –११ कामखेतका किसान टेकबहादुर शाही वार्षिक करिब १६ टन स्याउ उत्पादन गर्नुहुन्छ । एक वर्षअघिसम्म उहाँ उत्पादित स्याउ भरियालाई चार घण्टा पिठयुँमा बोकाएर कर्णाली राजमार्गमा पर्ने गाल्जेसम्म पुर्याउनु हुन्थ्यो ।
एक वर्षअघि गाल्जे–कामखेत ‘ग्राबिटी रोप–वे’ जडान भएपछि भने उहाँको  स्याउ एक मिनेट २५ सेकेन्डै गाल्जे बजारमा पुग्छ । तिला नदीवारि सडक र पारि बस्ती भएकाले सडक सुविधा पुग्न तीन÷चार बर्ष लाग्ने अवस्था छ । तर रोप–वे जडान भएपछि टेकबहादुर जस्तै तिलागुफा नगरपालिकाका ६, ९, १० र ११ वडाका २ हजार ५ सय घरधुरीका किसान लाभान्वित भएका छन । स्थानीयबासीले उत्पादन गर्ने तरकारी र फलफूल सजिलै राजमार्गसम्म पुग्छ । यसले बजारीकरणमा ठूलो सहयोग पुर्याएको कृषकले बताएका छन । ‘रोप–वे’ ले ढुवानी खर्चसमेत जोगाएको छ । ‘समयमा मान्छे नपाइने, पाए पनि मान्छेमार्फत ढुवानी निकै महँगो थियो,’ शाहीले भन्नुभयोन, ‘भारी बोक्दा स्याउ थिचिएर बिक्री नहुने समस्या थियो, रोप–वे जडान भएपछि धेरै समस्या हल भएका छन ।’ बोकाएर गाल्जेसम्म पुर्याउँदा प्रतिकिलो १२ रुपैयाँसम्म खर्च हुने हुन्थ्यो । शाहीले स्याउबाट वार्षिक १५ लाख रकम आम्दानी गर्दै आउनु भएको छ । 
‘रोप–वे’ मार्फत ढुवानी गर्दा प्रतिकिलो ३ रुपैयाँ ढुवानी खर्च लिने गरिएको गाल्जे–कामखेत ग्राबिटी कृषक समूहका अध्यक्ष मुनबहादुर थापाले बताउनु भयो । उहाँले अपरेटर खर्चबापत २ रुपैयाँ र मर्मतबापत १ रुपैयाँ ‘रोप–वे’ सञ्चालक समितिले लिने बताउनु भयो । ‘एकपटकमा एक क्विन्टल सामान वारपार हुन्छ,’ उहाँले भन्नुभयो, ‘तल र माथिबाट ७५ र २५ प्रतिशतका दरले सामान ढुवानी गर्दै आइरहेका छौं ।’ ‘रोप–वे’ मा दुईजनाले रोजगारीसमेत पाएका छन । भटारी र गाल्जेमा रोप–वे प्वाइन्ट स्थापना गरिएको छ । ‘रोप–वे’ प्वाइन्टमा कम्पनको माध्ययमबाट आपसी सञ्चार गरेर सामान ढुवानी गरिन्छ । 
उच्च मूल्य कृषिवस्तु विकास आयोजनाको सहयोगमा १ हजार ६ सय मिटर लामो ‘रोप–वे’ निर्माण गरिएको हो । आयोजनाको ३१ लाख रुपैयाँ सहयोग र जनश्रमदानबाट गत वर्ष जेठमा ‘रोप–वे’ निर्माण गरिएको हो । ‘रोप–वे’ निर्माण आयोजनासँग आबद्ध १५ समूहको स्याउ, तरकारी र फलफूलले सजिलै बजार पाएका छन  भौगोलिक रूपमा विकट भए पनि माथिल्ला क्षेत्रमा स्याउ र आलु उत्पादन कालिकोटमै सबैभन्दा धेरै हुने भएकाले ‘रोप–वे’ निर्माण गरिएको आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले बताउँनुभयो । ‘किसानले बजारीकरणमा सहयोग गर्न माग गरेकाले ‘रोप–वे’ को निर्माण गरिएको हो,’ आयोजना प्रमुख भारीले भन्नुभयो, ‘अहिले त्यहाँको उत्पादन ठूला सहरमा जान थालेको छ । भाउ समेत राम्रो पाइरहेको छ ।’
‘रोप–वे’ निर्माण भएपछि सडकको विकल्प बनेको जुविधाका श्रीबहादुर शाहीले बताउनु भयो । ‘रोप–वे’ बनेपछि सडक सुविधा नपुगेका गाउँबाट स्याउ, आलु, सिमीलगायत कृषिजन्य सामग्री बजारमा पुर्याउन सजिलो भएको छ । ‘रोपवेमार्फत गाउँमा खाद्यान्न र दैनिक उपभोग्य सामग्री जाने गरेको छ,’ उहाँले भन्नुभयो, ‘गाउँबाट सिजनमा दैनिक ५० क्विन्टलसम्म आलु सिमी र स्याउ पठाउने गरेका छौं ।’ 
आयोजनाले वषैंदेखि बन्द रहेको राचुलीको भातडीबाट धनाडा जोड्ने ‘ग्राबिटी रोप–वे’ मर्मत गरेको छ । ‘रोप–वे’ मर्मतपछि भातडी आसपासका आधा दर्जन गाउँका कृषकलाई आलु, स्याउ, सिमीलगायत कृषिजन्य सामग्रीको बजारीकरण गर्न सहयोग पुगेको छ ।
आयोजनाले करिब २१ लाख रुपैयाँ लगानीमा कर्णाली राजमार्गले छोएका गाल्जेमा स्याउ संकलन केन्द्र पनि निर्माण गरेको छ । १५ टन स्याउ संकलन केन्द्रमा एक सातासम्म राख्न मिल्ने र कर्णाली राजमार्ग हुँदै विभिन्न जिल्लामा पुग्ने गरेको कामखेतकी कलसा शाहीले बताउनु भयो । ‘रोप–वे र संकलन केन्द्र निर्माणले कालिकोटमा सबैभन्दा बढी स्याउ उत्पादन हुने कामखेतको उत्पादनले सजिलै बजार पाउन थालेको छ,’ उहाँले भन्नुभयो, ‘हामीले उत्पादन गरेको स्याउ सुर्खेत, नेपालगन्ज हुँदै काठमाडौंसम्म पुग्ने गरेको छ ।’
रुडु, कामखेत, रोकायाबाडा, तल्लो रुडु, जुबिथा स्याउ उत्पादनको पकेट क्षेत्र मानिन्छन । कामखेत आसपासका क्षेत्रमा करिब सय टन स्याउ र ७५ टन आलु उत्पादन हुने गरेको शाहीले बताउँनुभयो । गाउँमा २ सय ५० रोपनी क्षेत्रफलमा स्याउ खेती गरिएको छ । (प्रकाश पन्त/HVAP)