News and Events

स्याउ खेतीले चम्केका रतन

जुम्ला, चन्दननाथ नगरपालिका–९, उमगाडका रतनबहादुर रावल वर्षेनि स्याउका २२ हजार बेर्ना उत्पादन गर्छन् । उनले यसकै लागि कालिका फलफूल नर्सरी स्थापना गरेका छन् । पाँच वर्षदेखि उनले थालेको यो व्यवसायको कारण स्थानीय किसानलाई भारतको हिमाञ्चललगायत ठाउँबाट स्याउनका बेर्ना ल्याउनुपर्ने बाध्यता टरेको छ ।
‘जुम्लामै उत्पादन भएका बिरुवामा रोगकिरा कम लाग्ने, वातावरण अनुकूल र गुणस्तरीय हुने भएकोले नर्सरी व्यवसाय फस्टाएको छ,’ उनी भन्छन्, ‘यसबाट आम्दानी पनि राम्रै भएको छ ।’ उनको नर्सरीमा उत्पादन भएको बिरुवा जुम्लामात्र होइन, मनाङ, मुस्ताङ, मुगु, कालिकोट, बाजुरा, दार्चुलासम्म जान्छन् । उनी प्रतिबिरुवा ४४ रुपैयाँमा बेच्छन् । यस हिसाबले उनी स्याउ र बेर्ना बेचेरै वार्षिक ८ लाख रुपैयाँसम्म कमाउँछन् । उनले नर्सरीमा दुईजनालाई रोजगारी पनि दिएका छन् । सिजनको बेला १५ जनासम्मले ज्यालादारीमा रोजगारी पाउँछन् ।
नर्सरी गर्नको लागि उनलाई उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । आयोजनाकै सहयोगमा उनले नर्र्सरीलाई बिस्तार गरेका छन् । यसका साथै उनी किसानलाई खाल्डा खन्ने, बिरुवा लगाउने, काँटछाँट गर्नेलगायत काम सिकाउँछन् ।
रतनबहादुरले आप्mनो व्यावसायिक जीवनलाई स्याउ बेर्नाका साथै बगैंचामा समेत बिस्तार गरेका छन् । राफै, देउरुक र कालिकामा उनका तीनवटा स्याउ बगैंचा छन्, जहाँ करिब तीन सय ५० स्याउका बोट छन् । उनले गत वर्षमात्र ५० क्विन्टल स्याउ बेचे । स्याउ र नर्सरीको आम्दानीबाट उनले सुर्खेतमा दुईवटा घडेरी र जुम्लामा पाँच रोपनी जग्गा जोडेका छन् । छोरालाई चितवनमा कृषि विषय पढाइरहेका छन् । ‘श्रम गर्न छोडिएन, त्यसैले सफल भइयो,’ उनी भन्छन्, ‘अझै नर्सरी र स्याउ खेतीलाई बिस्तार गर्ने सोच बनाएको छु ।’ उनले नर्सरीमा जिल्लाकै उत्कृष्ट कृषकको रुपमा बिभिन्न पुरस्कार पाइसकेका छन् ।
उनले आप्mनो बेर्नामा रोयल डेलिसियस, रेड डेलिसियस, गोल्डेन डेलिसियसलगायत जातका स्याउका बेर्ना उत्पादन गर्दै आएका छन् । स्याउका बेर्ना तीन वर्षमा तयार हुन्छन् । पहिलो वर्ष कलमी गर्न बिरुवा तयार गरिन्छ । दोस्रो वर्ष कलमी गरिने र तेस्रो वर्ष बेर्ना बिक्री गर्ने गरेको उनले बताए । उनको व्यवसायमा उच्च मूल्य कृषि बस्तु विकास आयोजना सहयोगी बनेको छ । आयोजनाको प्राविधिक तथा आर्थिक सहयोगले आपूmलाई थप उर्जा मिलेको उनले बताए । (प्रकाश पन्त/HVAP)