News and Events

तरकारीले छुटायो कालापहाड

कालिकोटको खाँडाचक्र नगरपालिका–५, तेस्रो बजारका धनबहादुर कार्कीले तीन वर्षदेखि बेमौसमी तरकारी खेती गरिरहनु भएको छ । उहाँको तीन रोपनी बारीमा वर्षैभरि काँक्रा, फर्सी, टमाटर, काउली, खुर्सानीलगायतका बेमौसमी तरकारी फलिरहेको हुन्छ ।
तरकारी खेतीबाट वार्षिक तीन लाखसम्म आम्दानी गर्दै आएका उनले गाउँमै दुईतले पक्की घर बनाउनुका साथै छोराछोरीलाई निजी विद्यालयमा पढाइरहनु भएको छ । ‘तरकारी खेती गर्न थालेपछि आत्मविश्वास बढेको छ’ उहाँले भन्नुभयोे, ‘जीवनस्तर पनि व्यवस्थित बन्दै गएको छ ।’ तरकारी खेतीमा लाग्नुअघि उहाँ कमाईको लागि कालापहाड जाने गर्नुहुन्थ्यो । ‘भारतको कमाइले वर्षभरि खान पुग्दैनथ्यो,’ उहाँले भन्नुभयो, ‘तरकारी खेतीमा लागेपछि कालापहाड गएको छैन । उहाँ तरकारीको आम्दानीले घरजग्गा जोड्न सफल हुनु भएको छ । 
कार्की उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका निजी सेवा प्रदायकसमेत हुनुहुन्छ । व्यापार व्यवसाय केही थिएन, भारतजानु पर्ने वाध्यता थियो । आम्दानीको स्रोत थिएन, छाक टार्ने मुस्किल हुन्थ्यो । खेतवारीको उव्जनीले ६ महिना पनि पुग्दैन्थ्यो तर वेमौसमी तरकारी खेती गर्न थालेपछि वर्षभरी खान पुगेको छ । पैसा वचत पनि हुन्छ उहाँ भन्नुहुन्छ ।  दश जोड दुई पास गर्नु भएका कार्की तरकारी वेचेको जस्तो आम्दानी भारतमा वर्षदिन भरी काम गर्दा नहुने बताउँनु हुन्छ । आयोजनाले नीजि सेवा प्रदायक वनाएर समूह, सहकारी र किसानसँग सम्वन्ध जोडिदिएपछि काम गर्न निकै सजिलो भएको पनि उहाँले बताउँनु भयो ।  
आयोजनाकै प्रेरणाले बेमौसमी तरकारी व्यवसायमा लागेको बताउने उहाँले अरू किसानलाई ब्याड बनाउने, बेर्ना सार्ने, रोगकीरा नियन्त्रण गर्ने, गोडमेल गर्नेलगायतका बिभिन्न सल्लाह पनि दिदै आउनु भएको छ । तेस्रो बजारस्थित फूलबारी कृषक समूहमा २९ घरधुरी आबद्ध छन । फूलवारी समुहका सचिव पनि रहेका कार्कीले तेस्रो बजार आसपासका किसानलाई उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले व्यावसायिक तरकारी खेतीका लागि एक करोड २५ लाख ७४ हजार रुपैयाँको विभिन्न सहयोग उपलब्ध गराएको बताउँनु भयो । आयोजनाले सिँचाइ पोखरी, प्लास्टिक घर निर्माणदेखि कृषकलाई तरकारी बजारीकरणमा समेत  सहयोग गरेको छ । (मोवाइल नम्वर ९७४८९१०१०३)