News and Events

गाउँका ‘पशु–डाक्टर’ गोबर्धन

हुन त उनी ३५ दिने ग्रामीण पशु सेवा कार्यकर्ताको तालिम लिएका सामान्य प्राविधिक हुन् । तर, गाउँमा उनको परिचय ‘पशु डाक्टर’को रुपमा स्थापित छ । सल्यान,वनगाडकुपिन्डे नगरपालिका–११, रैकरका गोबर्धन बिकको यस्तो परिचय बन्नुको पछाडि सो अनुसारको काम पनि गरेका छन् ।
‘सबैभन्दा ठूलो कुरा सेवाग्राहीको विश्वास जित्नु रहेछ,’उनी भन्छन्, ‘लगनशील र मिहिनेती भएर काम गर्दा सबैको विश्वास जितें, सायद त्यसैकारण सबैले विश्वास गरिरहेका छन् ।’
गोबर्धनले १० वर्षदेखि गाउँमा एग्रोभेट चलाएका छन् । यसले आम्दानी पनि राम्रै दिएको छ । पहिले अरुसँग ऋण माग्न जाने उनी अहिले अरुलाई परेको बेला सहयोग गर्छन् । उनको मासिक आम्दानी करिब ३० हजार रुपैयाँ छ ।
उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले एग्रोभेटको विकासमा सहयोग गरेपछि उनको हौसला थप बलियो भएको छ । दुई वर्षअघि आयोजनाले ४८ हजार रुपैयाँ सहयोग गरेको थियो । सो रकमबाट उनले पशुको गोबर परीक्षण गर्ने यन्त्रदेखि अन्य आवश्यक उपकरणहरु किने । ‘यसले मलाई अझ राम्रोसँग पशु स्वास्थ्य सेवा पु¥याउन मद्दत गरेको छ,’उनी भन्छन्, ‘गाउँका सेवाग्राही पनि प्रभावकारी सेवा पाउँदा खुसी छन् ।’
आयोजनाले उनको व्यवसायलाई पशुपालक किसानसँग पनि जोडिदिएको छ । आयोजनाले सहयोग गरेका सहकारी तथा समूहका किसानहरु उनको एग्रोभेटबाट सहयोग लिन्छन् । यसले उनको आम्दानी पनि बढेको छ । ‘मेरो आम्दानी मात्र बढेको छैन, उहाँहरुले समेत राम्रो सेवा पाउनु भएको छ,’उनी भन्छन्, ‘आयोजनाले दुबै पक्षलाई लाभहुने गरी पुलको काम गरि दिएको छ ।’
गोबर्धनले किसानवाट बिरामी पशुको गोबर परीक्षण गरेको २० रुपैयाँ, खसी बनाएको ५० रुपैयाँ र गोरु बनाएको सय रुपैयाँ लिने गरेका छन् । उनले यही व्यवसायसँग मिल्दोजुल्दो भएकोले पशु तथा बाली बिमाको पनि एजेण्ट लगेका छन् । यसले किसानलाई सहज भएको छ भने उनको आय पनि बढेको छ ।
आयोजनाले किसानसँग सम्बन्ध जोडिदिएपछि उनको पशु स्वास्थ्य सेवामात्र बिस्तार भएको छैन, अन्य व्यवसाय पनि सँगसँगै हुर्केको छ । उनी किसानले उत्पादन गरेको तरकारी संकलन गरी व्यापारीलाई बेच्छन् । औषधी र बीऊ किसानलाई बेच्छन् । ‘१० वर्ष अघि सुरु गरेको एग्रोभेटले गर्दा मलाई चौतर्फी रुपमा व्यावसायिक बनाएको छ,’उनी भन्छन्, ‘मिहिनेत र लगनशील भएर काम गर्दा विश्वास र आर्थिक दुबै कमाएको छु ।’(प्रकाश पन्त/HVAP)