News and Events

बाख्राका धनी, धनबहादुर

चार वर्षअघि तिलागुफा नगरपालिका–६, जुविथा, कालिकोटका धनबहादुर शाहीले साहुबाट तीन प्रतिशत व्याजमा एक लाख रुपैया ऋण लिएर १९ वटा बाख्रा किन्नु भयो । विगतेको चार वर्षमा बाख्रावाट उहाँको जीवनमा ठुलो परिवर्तन आयो । यो अवधिमा उहाँले बाख्राबाट करिव पाँच लाख रुपैया आम्दानी गर्नु भयो । अहिले उहाँसग ५५ वटा बाख्रा छन । पाँच÷छ वर्षअघिसम्म कालीपारे भनेर चिनिने शाही अहिले गाउँकै नमुना बाख्रापालक किसान भनेर चिनिनु हुन्छ । मिहिनेत गरे सवैथोक हुँदो रहेछ, उहाँले भन्नुभयो, १९ वटा बाख्रामध्ये १६ वटा बाख्राले पाठापाठी पाए । त्यसको आम्दानीले पहिलो वर्षमै साहुको ऋण तिरे । 
खेतवारीको उव्जनीले वर्षभरी खान पुग्दैन्थ्र्यो । बाली सप्रियो भनेपनि छ महिना भन्दा बढी खान पुग्दैन्थ्यो । वाकी छ महिना किनेरै खानु पत्यो । अनाज किन्ने पैसा पनि हुदैन्थ्यो । ऋण सापट गरेर अनाज किनेर खानु पथ्र्यो तर अहिले बाख्राकै आम्दानीले सवै घरखर्च चलेको छ, शाहीले भन्नुभयो, बाख्रा नपालेको भए, अहिले पनि कालापहाडमै भारी बोकिरहेको हुन्थे होला । पहिला समाजले पनि पत्याउदैन्थ्यो । बाख्राबाट राम्रो आम्दानी हुन थालेपछि समाजले गर्ने व्यवहारमा पनि परिवर्तन आएको अनुभूति गरेको छु । 
बाख्राबाट राम्रो आम्दानी गर्दै आउनु भएको छ । पहिला दुखी विरामी हुँदा पैसाको लागि दुनियाँसँग हातपाउ जोड्नु पर्थ्यो । अहिले कसैसँगको दैलो चहार्नु परेको छैन । बरु उल्टै अरुलाई पनि सहयोग गदै आउनु भएको छ । उहाँलाई उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले आधुनिक खोर निर्माणदेखि घाँसखेती, बाख्रापालन सम्वन्धी तालिम, डिपिङ्ग टंकी निर्माणमा सहयोग गरेको थियो । आयोजनाको सहयोगपछि व्यवगसायिक रुपममा बाख्रापालनमा लाग्ने झन हौसला मिलेको शाहीले बताउँनु भयो । आयोजनाबाट २५ हजार रुपैया सहयोग पाएका शाहीले अरु एक लाख २५ हजार रुपैया आफैले खर्चेर बाख्राको लागि आधुनिक खोर निर्माण गर्नु भएको छ ।
जागिर छैन, व्यापार छैन, शाही भन्नुहुन्छ, पहिलाको जस्तो साहुँ ऋण गर्नु पदैन । पैसा चाहिएको वेला एउटा बाख्रा बेच्यो भने पनि पाँच÷छ हजार रुपैया भइहाल्छ । त्यसैले छोराछोरी पढाउन पनि समस्या छैन । जेठी छोरीको विवाह भैइसकेको छ भने जेठो छोरा सव ओभरसियर, बुहारी कक्षा ११, माइलो छोरी कक्षा ११, माइली छोरी सात कक्षा, कान्छी छोरी पाँच कक्षा र कान्छो छोरा तीन कक्षामा पढिरहेका छन । 
सवै बाख्राको विमा गर्नु भएका शाहीले आफ्नो अनुभव, ज्ञान र सीप गाउँलेलाई पनि सिकाउदै आउनु भएको छ । छोटो समयमा बाख्राबाट राम्रो आम्दानी गर्न सफल भएपछि धनबहादुर अहिले अरु गाउँलेका लागि पनि प्रेरणादायी व्यक्तित्व बन्नु भएको छ । अहिले उहाँलाई कालापहाडका वर्षहरु त्यतिकै खेर गएको जस्तो लागेको छ । त्यसैले उहाँ विदेश जाने युवाहरुलाई भन्नुहुन्छ, गाउँमै इलम गरौ, विदेशमा अर्काको भारी वोक्न नजाऔ । भारी वोक्ने नै भएपनि आफ्नै देशमा बोकै ? त्यसवाट जीवनभरी खान, लगाउन पुग्छ । विदेशबाट ल्याएकोले कति दिन पुग्छ र ?