News and Events

उर्थुमा स्याउले भित्र्यायो समृद्धि

जब बगैंचामा स्याउ फुल्न थाल्छ, तब जुम्ला पातारासीका, उर्थुकी चैती बिष्टको मन पनि फुरुङ्ग हुन थाल्छ । जीवनको ७० वर्षे यात्रामा हिँडिरहेकी उनको मनमा फुरुङ्ग उत्साहल्याउँछ त्यही स्याउले, जसबाट उनको जीवन सार्थक भएको छ । ‘स्याउ फुल्न थालेपछि त यसको स्याहार गर्दै समय गएको पत्तो हुँदैन,’उनीभन्छिन्, ‘फलेर बजार पठाए पछि मात्र फुर्सद हुनथाल्छ ।’
उनका स्याउका चारवटा बगैंचा छन् । यही स्याउ बेचेर सालिन्दा करिब दुई लाख रुपैयाँ कमाउँ छिन् । त्यसैले उनी यो उमेरमा पनि स्याउसँगै हुन्छिन् । यही स्याउसँग उनको जनाको परिवार निर्भर छ ।
पातारासीकै बिजुला बिष्टको स्याउ मोह पनि कम्ति छैन । अन्न कम उत्पादन हुने उनी स्याउ बेचेरै वर्षभरिलाई पुग्ने आम्दानीको जोहो गर्छिन् । गाउँका अरु स्थानीय पनि स्याउबाट जीवन गुजारा गर्छन् । उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले गाउँमै दुईतले सेलार स्टोर निर्माण गरि दिएपछि किसानलाई थप सहज भएको छ । ‘पहिले त स्याउ टिपेपछि कुहिएर जान्थ्यो, अब त्यस्तो अवस्था रहेन,’उनीभन्छन्, ‘सेलार स्टोर भएपछि अहिलेसम्म पनि स्याउ सुरक्षित अवस्थामै छ ।’ सेलार स्टोरमा चैत÷वैसाखसम्म स्याउ राख्दा मूल्य पनि दोब्बर हुने उनको भनाइ छ ।
स्थानीय किसान दत्तबहादुर बिष्ट फुलफुल्ने बेलारोगको संक्रमणबाट बचाउन सके असोज–कात्तिकमा स्याउको बुटामा पैसा फल्ने बताउँछन् । उनका अनुसार उर्थुमा तीनदसक पहिला केही गाउँलेले मात्र स्याउ लगाएका थिए । अहिले हरेकका घरमा स्याउका बगैंचा छन् । त्यतिमात्र होइन, पहिले किसानले डोकोमा बोकेर स्याउ बेच्न लैजान्थे, अहिले सेलार स्टोरमा स्याउ थन्काउँछन । गाडीगाउँमै आएर बजार लैजान्छ । ‘हाम्रो गाउँमा यही स्याउले समृद्धि भित्र्याएको छ,’उनी भन्छन्, ‘यति भएपछि कोही किन विदेश जाओस् ?’
सेलार स्टोर निर्माण भएपछि स्याउको एक दानापनि खेर नजाने चैती बताउँछिन् । पहिले उनलाई टिप्ने बित्तिकै बेच्नुपर्ने बाध्यता थियो, अहिले निर्धक्क साथ चाहेको बेला पूरा मूल्यमा स्याउ बेच्छिन् । ‘पहिले समयमै नबेच्दा स्याउ कुहिएर जान्थ्यो,’ उनीभन्छिन्, ‘अहिले त जहिलेसम्म राखे पनि केही समस्या छैन ।’
आयोजनाको सहयोगमा १९ लाख ९५ हजार रुपैयाँ लागतमा १५ टन क्षमताको सेलार स्टोर निर्माण गरि दिएको हो । लागतको तीन लाख ८० हजार पाँच सय ५० रुपैयाँ स्थानीय कालिका कृषि बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध किसानले श्रमदान गरेका हुन् ।
सिजनको बेला प्रतिकेजी ४०÷४५ रुपैयाँमा बिक्री हुने स्याउ सेलार स्टोर आएपछि बेसिजनमा प्रतिकेजी एक सय २० रुपैयाँसम्म बिक्री हुन्छ । यसबाट गाउँका ७२ घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । सहकारीका अध्यक्ष परेउ बिष्टले सेलार स्टोरले किसानलाई पूरापूर मूल्य दिएको बताउँछिन् । ‘स्याउ कुहिनबाट जोगियो, किसाउनले मूल्य पाए,’उनीभन्छन्, ‘सेलार स्टोर त हामी किसानको लागि बरदान नै सावित भएको छ ।’ आयोजनाले किसानलाई व्यावसायिक साक्षरता कक्षा, बगैंचा काटछाँट, स्याउ संकलन सामग्री क्रेट, पन्जा आदिमा पनि सहयोग गरेको उनले बताए । (प्रकाश पन्त/HVAP)