News and Events

चौकीदारबाट नमुना कृषक

बनगाडकुपिन्डे नगरपालिका –६, आँपखोली, सल्यानका टोपबहादुर विसीको बेमौसमी तरकारी खेतीबाट जीवनस्तर बदलियको छ । पहिला मुस्किलले खान, लगाउन पुग्ने बिसी तरकारी खेती गरेपछि अहिले सल्यानकै नमुना किसान बन्नु भएको छ । ‘सात÷आठ वर्ष अघिसम्म खान लगाउनकै समस्या थियो, उहाँले भन्नुभयो, ‘परिवार पाल्नको लागि कालापहाड नगइ हुदैन्थ्यो । तर अहिले पहिलाको जस्तो अवस्था छैन । नौ वर्ष भयो कालापहाड पनि जानु परेको छैन । सुखसँग खान लगाउन पुगेको छ ।’ 
भारतको आग्रामा नौ वर्ष चौकीदारीको काम गर्नु भएका उहाँले गाउँ फर्केपछि तरकारी खेती सुरु गर्नु भएको थियो । १४÷१५ वर्षको उमेरमा पहिलो पटक कालापहाड जाँदा उहाँले दुई सय रुपैयामा काम गर्नु भएको थियो । ९ वर्षपछि घर फर्किने वेला तलव मासिक पन्ध्र सय रुपैया पुगेको थियो । भारतको कमाईले परिवार पाल्न मुस्किल तरकारी खेतीमा जुटेको उहाँले बताउँनु भयो । 
पहिलो पटक एक रोपनी जग्गामा तरकारी लगाउँदा करिव २५ हजार रुपैया आम्दानी भयो । त्यसपछि व्यवसायिक रुपमै तरकारी खेती थालियो, बारीमा झार उखेल्दै गर्नु भएका विसीले भन्नुभयो, ‘आठ÷नौ वर्षअघि साह्रै दुख थियो । अहिले ती दिन सम्झँदा कथाजस्तो लाग्छ । बिहान बेलुकाको छाँक टार्नै धौधौं पथ्र्यो । अहिले तरकारी खेतीले मीठो मसिनो खान पुगेको छ । तरकारीले नै यहाँसम्म ल्याईपुर्यायो ।’   
बाआमासहित बिसीको नौ जनाको परिवार तरकारीकै आम्दानीमा निर्भर छ । उहाँले वर्षमा करिव चार लाख रुपैया आम्दानी हुने गरेको बताउँनु भयो । कुनै वेला खान लगाउनको चर्को समस्या भोगेका टोपबहादुरले अहिले सानसँग जीवन बिताइरहनु भएको छ । ‘तरकारीले बाँचेको छु उहाँले भन्नुभयो, ‘तरकारी खेती सुरु नगरेको भए अहिले कालापहाडमै चौकिदारी गरिरहेको हुन्थे होला ।’
तरकारीकै आम्दानीबाट उहाँले छोराछोरीलाई गाउँकै नीजि विद्यालयमा पढाउनु भएको छ । माइलो छोरा यादव १० कक्षामा, साइलो छोरा धिरेन्द्र सात कक्षामा, कान्छो छोरा सुशिल चार कक्षामा र छोरी कल्पना नौ कक्षामा पढ्दैछन । उनीहरु सवै सल्लीबजारमा रहेको नीजि विद्यालयमा पढ्छन । जेठो छोरा राजु भने कतारमा छन । चार भाईवहिनी छोराछोरीको पढाई खर्च महिनाको १२ हजार रुपैया हुन्छ । आर्थिक अवस्था बलियो हुदै गएपछि समाजले पनि पत्याउन थालेको छ । समाजको हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको अनुभव गरेको छु विसीले भन्नुभयो  ‘पहिला कसैले पनि विस्वास मान्दैन्थे । तर अहिले विस्वास बढ्दै गएको छ । सवैले सहयोगको आशा राख्छन । 
गाउँकै बिष्णु आँपखोली कृषक समूहमा आवद्ध उहाँले उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको सहयोगमा फलामका टनेल पाउनु भएको छ । आयोजनाले तीन वटा दिएको छ भने चार वटा आफैले बनाउनु भएको छ ।आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगले आम्दानी पनि दोव्वरले बढेको उहाँले बताउँनु भयो । बाह्रैमाहिना बेमौसमी तरकारी खेती गदै आएका उहाँलाई तरकारी बेच्न पनि समस्या छैन । आयोजनाको समुन्वयमा सल्लीबजारमा रहेको कठायत सव्जी मण्डीसँग अग्रिम संझौता गर्नु भएको छ । उत्पादन गर्न सक्नु पर्यो, जति उत्पादन हुन्छ त्यति नै मण्डीले लिन्छ । आयोजनाले व्यापारीसँग सम्वन्ध स्थापित गरिदिएपछि तरकारी उत्पादन गर्ने हौसला बढेको उहाँले बताउँँनु भयो । 
‘गरे के हुँदैन न र ? टोपबहादुरले भन्नुभयो, ‘अन्नखेती भन्दा तरकारीबाट जिन्दगी बदलियो । आठा रोपनी जग्गा भाडामा लिएर अहिले उहाँले काँक्रा, फर्सी, टमाटर, साग, करेला, सिमी, लौका, लगायतका मौसमी तथा बेमौसमी तरकारी लगाउनु भएको छ । वर्षमा ३८ हजार रुपैया भाडा तिर्छु उहाँले भन्नुभयो, ‘विगतमा कुनै दिन खल्तीमा सय रुपैया पनि हुदैन्थ्यो, तरकारी खेती गर्न थालेपछि अहिले खल्तीमा १०÷१५ हजार रुपैया खाली हुदैन । प्रकाश पन्त/HVAP