News and Events

बाख्रा एटिएम, पदमबहादुर

सुर्खेतको बराहताल गाउँपालिका–८, कुम्भिकोटका पद्मबहादुर शाहीले एकै पटक ४ लाख ५८ हजार रुपैयामा बाख्रा बेच्नु भयो । खोर नै रित्याएर  ७० वटा खरी जातका बाख्रा बेच्नु भएका उहाँ अब बोयर जातका बाख्रा पाल्ने योजनामा हुनुहुन्छ । बाख्राबाट राम्रा आम्दानी लिन सफल उहाँले भन्नुभयो, ‘स्थानीय खरी जातको भन्दा उन्नत बोयर जातको बाख्राको माग बढिरहेको छ । त्यसैले खरी हटाएर बोयर जातको बाख्रा पालन गर्ने योजना बनाएको हुँ । बोयरवाट आम्दानी पनि दोब्बर हुन्छ ।’
बोयर जातका थोरै पाल्ने र धेरै फाइदा लिने योजनामा शाही हुनुहुन्छ । त्यसैले उहाँले चैते दशैंताका ७० वटा बाख्रा बेच्नु भयो । अहिले उहाँसँग तीन वटा बोयर र पाँच वटा जमुनापारी जातका बाख्रा छन । ‘एकै पटक सत प्रतिशत बोयर जातका बाख्रा पाल्न सकिदैन, उहाँले भन्नुभयो, बोयर जातका ५० प्रतिशत माउबाख्रा र ७५ प्रतिशत बोका पाल्ने सोचका साथ खरी जातका बाख्रा हटाएको हुँ ।’
छ वर्षअघि उहाँका १३ वटा बाख्रा थिए । घरबाट छुटिदा खेरी भागमा परेका बाख्रापालेर उहाँ अहिले लखपति हुनु भएको छ । ‘परम्परागत रुपमा बाख्रा पाल्न्थ्यिो, तर २०७१ सालमा उच्च मूल्य कृषि वस्तु विकास आयोजनाकै कारण व्यवसायिक रुपमा बाख्रा पालनमा लिगियो । बाख्रा पालन कसरी गर्ने सुरुसुरुमा केही पनि थाहाँ थिएन । पुरानै तरिकाले बाख्रा पालियो ।अहिले नयाँ तरिकाले पाल्दा दुख कम र फाइदा बढी भएको छ उहाँले भन्नुभयो, एचभीएपीले गर्दा जीवन बदलिएको अनुभूति भएको छ ।’
छोटो समयमै राम्रो आम्दानी लिन सफल शाहीले बाख्रा फर्म दर्ता गरी व्यवसाय सुरु गर्नु भएको छ । ‘नवदुर्गा बाख्रा फर्म नै दर्ता गरेर बाख्रापालनमा जुटेका उहाँले चार÷पाँच वर्षमा बाख्राबाट १६÷१७ लाख रुपैया आम्दानी गरेको बताउँनुभयो । बाख्रा पाल्न थालेपछि पैसाका लागि ऋण सापट गर्नु परेको छैन । छोराछोरी पढाउने÷ लेखाउनेदेखि घरखर्च चलाउनेसम्म बाख्राकै आम्दानीले धानेको छ । सवै खर्च कटाएर वर्षमा करिव ४ लाख रुपैयाँ बचत भैइरहेको छ, उहाँले भन्नुभयो । 
फरक ढङ्गले व्यवसायि गर्ने हो भने पैसा कमाउँन काही पनि जानु पदैन, घरमै बसीबसी पैसा हुन्छ शाहीले भन्नुभयो । पछिल्लो पटक गाउँमा बाख्रा पाल्ने किसानको संख्या पनि बढ्दै गएको छ । एक सय ३५ घरधुरी रहेको कुम्भिकोटमा सरदरमा सवै किसानले २५÷३० वटा बाख्रा पालेका छन ।   जसले गर्दा जंगलमा चरिचरनको पनि समस्या हुन थालेपछि बधुवा बाख्रा पाल्ने सोचमा शाही पुग्नु भएको छ । त्यसको लागि उहाँले विभिन्न जातका घाँस लगाउनु भएको छ । ५ रोपनी जग्गामा नेपियर, किमु, दवदवे, मलातो, भटमासे, वड्हर लगायतको घाँस लगाएको बताउँनु भयो । 
हरियाली बाख्रापालन समुहमा आवद्ध शाहीले खोर निर्माणको लागि आयोजनाबाट ५५ हजार रुपैया पाउनु भएको थियो । त्यसमा आफुले थपेर उहाँले ४० वटा बाख्रा अट्ने आधुनिक खोर निर्माण गर्नु भएको छ । खोर व्यवस्थीत भएपछि बाख्रा तुहिने, विरामी पर्ने, रोग लाग्ने समस्या छैन । हाडनाता नभएपछि बाख्राको तौलमा पनि बृद्धि भएको छ । जसका कारण बाख्राबाट हुने आम्दानी पनि बढेको छ । बाख्राको साथसाथै उहाँले तरकारी खेती र किराना पसल पनि गर्नु भएको छ । बाख्रा र तरकारीको आम्दानी जोड्दा वर्षमा करिव ६ लाख रुपैया हुन्छ । आर्थिक अभावका कारण सात कक्षा भन्दा माथी पढ्न नपाएको बताउँने शाहीले आफ्ना चार भाईबहिनी छोराछोरीलाई राम्रो शिक्षा दिक्षा दिनु भएको छ । छोरा धर्मराजले भेटेनरी जेटिएको पढाई सकेर बराहताल गाउँ पालिकामै  कार्यरत हुनुहुन्छ । जेठी छोरी दुर्गा गाउँकै आधारभूत विद्यालयमा पढाउनु हुन्छ । भने माइली छोरी लक्ष्मी एक गैरसरकारी संस्थामा बाजुराका काम गर्नुहुन्छ । कान्छी छोरी स्मृति बीरेन्द्रनगरमा रहेको जनमाविमा १२ कक्षामा पढ्रदै छन । आर्थिक अवस्था बलियो हुदै गएपछि गाउँमा पनि सवैले विश्वास गर्न थालेका छन । पदमबहादुरले पनि आफुले सिकेको ज्ञान, सीप गाउँलेलाई बाँड्दै आउनु भएको छ । 
५० वटा माउ बाख्रा पाल्दा वर्षमा चार लाख रुपैया आम्दानी हुने गरेको उहाँले बताउँनु भयो । खेती किसानी गर्दा पशु पालन गर्दा  दुख पनि हुन्छ, सुख पनि हुन्छ, उहाँले भन्नुभयो, चौवीसै घण्टा खटिनु पर्छ । काम कहिल्यै पनि सकिदैन । अरु भन्दा पनि बाख्रापालनमा थोरै लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ । बाख्रापालन व्यवसाय त एटिएम जस्तै हो । जतिवेला चाहिन्छ, त्यतिवेलै पैसा निकाल्न सकिन्छ ।  प्रकाश पन्त/HVAP