News and Events

आयोजनाले पौरख गर्न सिकायो

सल्यानको बनगाड कुपिन्डे –७ अम्राकी रामकली बुढा ३ वर्षदेखि सल्लीबजारमा तरकारी बेच्दै आउनु भएको छ । तकारीको आम्दानीबाटै उहाँले आफ्नो घरपरिवार चलाउदै चलाउनु भएको छ । बिहानै झिस्मिसेमा १५ मिनेटको बाटो हिडेर उहाँ सल्लीबजारमा तरकारी बेच्न पुग्नु हुन्छ । पहिले घरमा खानको लागि तरकारी लगाउथ्यौ, उहाँले भन्नुभयो, ‘छिमेकीले लगाएको देखेर मैले पनि व्यवसायिक रुपमा तरकारी खेती थाले ।’
रामकलीले वर्षे सिजनमा मात्र अन्नवाली उत्पादन गर्नुहुन्थ्यो । उहाँले वर्षे सिजनमा मकै र धान खेती गर्नुहुन्थ्यो । हिउँदे सिजनमा जग्गा बाझै हुन्थ्यो । तर उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले सहयोग पाएपछि उहाँले बेमौसमी तरकारी खेती सुरु गर्नु भएको छ । अम्रामा रहेको गतिशिल महिला कृषक समुहलाई आयोजनाले बेमौसमी तरकारी खेतीको लागि १३ लाख ६७ हजार रुपैया अनुदान दिएको थियो । 
गतिशिल समुहमा आवद्ध रामकलीले पनि समुह मार्फत आयोजनाको सहयोग पाउनु भयो । आयोजनाको सहयोगकै कारण तरकारी खेती थालेको उहाँले बताउनु भयो । समुहमा आवद्ध भएपनि उहाँले सुरुमा बेमौसमी तरकारीमा सहयोग लिनु भएन ।  आयोजनाको सहयोगले छिमेकीले बारीभरी हराभरा वनाउन थालेपछि मन थामिएन उहाँले भन्नुभयो ‘सहयोग लिएर तरकारी खेतीमा जुटे । धान, मकै बेचेर हुने आम्दानी भन्दा तरकारीबाट १० गुणा बढी आम्दानी भयो । धान, मकै बेचेर वर्षभरीमा १० हजार रुपैया पनि हुदैन्थ्यो  अहिले तरकारीबाट वर्षदिनमा  एकलाख रुपैयाको तरकारी वेच्छु ।’
 आयोजनाले पौरख गर्न सिकाएको बताउने उहाँको घरमा श्रीमान, छोराबुहारी र २ छोरी छन । ६ जनाको परिवार तरकारी खेतीकै भरमा चलेको छ । उहाँले सुरुमा घरपरिवारको साथ पाउनु भएन । परिवारले वेवास्था गरेपनि उहाँले तरकारी खेती छाडनु भएन । अहिले भने उहाँलाई घरपरिवारले पनि सघाई रहेका छन । कसैले साथ नदिएपनि हिक्मत हारिन अनि सफल भए उहाँले भन्नुभयो । टमाटर, काउली, काँक्रा खेती गदै आउनु भएकी उहाँले तरकारीको कमाइ बचत पनि गदै आउनु भएको छ । विगतका दिनहरुमा बिरामी परियो भने कसरी उपचार गर्ने होला भन्ने चिन्ता लाग्थ्यो तर अहिले त्यस्तो चिन्ता छैन । पैसा बचत भएकोले सानोतिनो समस्या पर्दा सजिलै टारिएला भन्ने लाग्ने उहाँले बताउनु भयो ।
तरकारी खेतीबाट सबै खर्च कटाएर राम्रै आम्दानी हुने गरेको सुनाउँदै रामकलीले  जीविकोपार्जन गर्न सहज भएको बताउनुभयो । मिहिनेत गरे यसबाट राम्रै फाइदा हुने गरेको उल्लेख गदै उहाँले व्यावसायिक तरकारी खेतीमा लागेपछि दुखका दिनहरु विस्तारै हराउदै गएको अनुभव गर्नु भएको छ । आयोजनाले बैमैसमी तरकारी खेतीको लागि समुहमार्फत प्लाष्टिक सिट, मल्चिङ्ग प्लाष्टिक, डिजिटल तराजु, क्रेट, बीउ खरिद र प्राविधिक सेवा खरिदमा सहयोग गरेको थियो । आयोजनाको सहयोगपछि तरकारी खेतीमा लागेको बताउनु भयो । पहिले घरमै  खाने गरिमात्र तरकारी लगाउँथ्यौं उहाँले भन्नुभयो, ‘व्यावसायिक तरकारी खेती सुरु गरेपछि आफूलाई खानलाई भएको छ नै, आम्दानीले जीवनयापनमा पनि सहज भएको छ ।’ प्रकाश पन्त/HVAP