News and Events

विदेश जादा खर्च हुने पैसाले गाउँमै उद्यम

केही समय अघिसम्म राजनीतिमा निकै सक्रिय सुर्खेतको भेरीगंगा –१ सिमवास लेखराजुलका पदमबहादुर ओली हिजोआज भने बाख्राको स्याहारमा व्यस्त हुनुहुन्छ । गएको स्थानीय निकायको चुनावमा वडाध्यक्षमा लडनु भएका अहिले उहाँ बाख्रापालनमै रमाइरहनु भएको छ । उहाँको लागि बाख्रापालन पनि आम्दानीको गतिलो माध्यम बनेको छ । बुवाआमाले भैसी पाल्नु भएको थियो । भैसी पाल्दा आम्दानी कम र दुख बढी हुने भएकोले उहाँले पुर्खेली व्यवसाय फेर्नु भयो । २०६६ सालमा भैसी हटाएर बाख्रा किन्नुभयो । भैसी हटाएर उहाँले सुरुमा ५ वटा बाख्रा किन्नु भएको थियो । अहिले उहाँसगँ ४५ वटा बाख्रा छन । २०७० सालसम्म पुरानै तरिकाले बाख्रापालन गर्नु भएका उहाँले त्यसपछि भने आधुनिक रुपमा बाख्रापालन गदै आउनु भएको छ । केही वर्ष पुरानै तरिकाले बाख्रा पालियो उहाँले भन्नुभयो, ‘४ वर्ष भयो व्यवसायिक रुपमा बाख्रापालनमा जुटेको छ ।’ उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले गर्दा बाख्रापालन गर्ने हौसला मिलेको उहाँले बताउनु भयो । आयोजनाको सहयोगमा  आधुनिक खोर निर्माण, उन्नति जातका पोषिलो घाँस खेती गरेको छु उहाँले भन्नभयो, ‘सहयोग नपाएको भए व्यवसायिक रुपमा बाख्रा पाल्ने सोच नै आउने थिएन ।’
आफैंले केही गर्छु भन्ने अठोट साथ बाख्रापालन थाल्न भएका ओलीले सुरुसुरुको वर्ष खासै आम्दानी लिन नसकेपनि अहिले भने राम्रो आम्दानी गरिरहनु भएको छ । आयोजनाको सहयोगपछि उहाँले राम्रो आम्दानी गर्नु भएको छ । उहाँले गतवर्ष बाख्राबाट ४ लाख रुपैया आम्दानी गर्नुभयो । बाख्रा पाल्न थालेपछि ४÷५ वर्षयता हरेक वर्ष ३÷४ लाख रुपैया कमाई रहनु भएको छ । उहाँ अहिले बाख्रा फर्मलाई बोयर बाख्रा स्रोत केन्द्रको रुपमा विकास गर्ने योजनामा अघि बढिरहनु भएको छ । त्यसको लागि ८ रोपनी बारीमा घाँस खेती गर्नु भएको छ । घरवरीपरीको जंगल सामुदायिक वनमा बनाएपछि चरिचरनको समस्या छ । त्यसैले घरमै वाँधेर पाल्नको लागि घाँस खेती गरेको उहाँले बताउनु भयो ।  शुद्ध वोयर बाख्रा पाल्नको लागि सनराईज बैकबाट १५ लाख रुपैया ऋण लिने अन्तिम तयारीमा रहेका उहाँले भन्नुभयो, ‘स्थानीय जातका बाख्राहरु सवै हटाएर सयवटा जति शुद्ध बोयर जातका बाख्रा पाल्छु ।’ 
गाउँकै लालीगँुरास बाख्रापालन समुहलाई उच्च मूल्य कृषि वस्तु विकास आयोजाले १७ लाख ३३ हजार रुपैया अनुदान दिएको थियो । आयोजनाको सहयोगबाट उहाँले आधुनिक खोर निर्माण, घाँस खेती, वोयर जातका बोका खरिद गर्नु भएको छ । ओली बाख्रापालनबाट अरु व्यवसायमा जस्तो तुरुन्तै प्रतिफल नआउँने बताउँनु हुन्छ । बाख्रा पाल्दा धैर्यशील हुनुपर्छ उहाँले भन्नुभयो, ‘कम्तीमा २÷४ वर्षसम्म खासै नाफाको हुदैन, त्यसपछि पैंसै पैसा हुन्छ ।’ बाख्रापालनबाट राम्रो आम्दानी लिन सफल उहाँले बीरेन्द्रनगरमा जग्गा पनि किन्नु भयो । बाख्राकै आम्दानीबाट घर खर्च चलाउनेदेखि छोराछोरीलाई पढाउन पुगेको छ । वुवाआमासहित ओलीको ७ जनाको परिवार छ । 
जान्ने बुझ्ने भएदेखि राजनीतिमा लागेका उहाँ व्यवसाय विना राजनीतिमा अघि बढन नसकिने बताउनु हुन्छ । वडाध्यक्षको चुनाव जित्न नसके पनि बाख्रापालनमा सवैलाई जित्ने योजना रहेका उहाँ भन्नुहुन्छ राजनीतिमा नमुना बन्न नसकेपनि बाख्रापालनमा सुर्खेतकै नमुना किसान बनेर देखाउँछ । कुनै वेला उहाँ लगायत ५ जना साथीहरु मिलेर सुर्खेतको सत्तरीमा सामुहिक बाख्रापालन गरेका थिए । तर त्यो सामुहिक व्यवसाय २ वर्ष पनि टिकेन । त्यसपछि उहाँले एक्लै बाख्रापालन थाल्नु भएको थियो । बाख्रापालन थालेपछि उहाँको आर्थिक, सामाजिक हैसियत पनि बढेको छ । राजनीति भन्दा व्यवसाय गर्दा सवैले विश्वास गर्ने गरेको उहाँले  अनुभव गर्नु भएको छ । समस्या पर्दा गाउँलेले पनि उहाँलाई नै सम्झिन्छन । गाउँलेकै विस्वासले गर्दा सामुदायिक वन, सहकारी संस्था, उपभोक्ता समिति लगायत विकास निर्माणका कामको पनि उहाँले नेतृत्व गदै आउनु भएको छ । 
बाख्रापालन व्यवसायमा रमाईरहेका उहाँ अहिलेसम्म कालापहाड र खाडी मुलुक जानु भएको छैन । ३३ वर्षे ओली साथीहरुलाई पनि कालापहाड र खाडी मुलुक नजान सुझाव दिनुहुन्छ । विदेश जादा खर्च हुने पैसाले गाउँमै सानो उद्यम गर्नुहोस उहाँले भन्नुभयो, त्यो उद्यम सधैका लागि हुन्छ । विदेशबाट ल्याएका पैसाले कति दिन पुग्छ र ? प्रकाश पन्त/HVAP