News and Events

‘टिमुर त पैसा दिने बुटा रहेछ’

छेडागाड –१० झाप्रा जाजरकोटका भद्र कामीलाई ८÷१० वर्ष अघिसम्म टिमुरबाट आम्दानी गर्न सकिन्छ भन्ने थाहाँ थिएन । त्यसैले उहाँले कुनै वेला आफ्नो वारीका टिमुरका सवै बोटहरु फाड्नु भएको  थियो । तर अहिले जहाँ देखेपनि टिमुरका विरुवा ल्याएर वारीमा रोपि हाल्नु हुन्छ । पहिला महत्व नबुझेर बुटाहरु फाडियो अहिले आएर पछुतो लागेको छ उहाँले भन्नुभयो, ‘औषधी हुन्छ भन्दै घरमै खानको लागि मात्र थोरै टिमुर बाह्र भदौमा टिप्थ्यौ । वाँकी टिमुर त्यतिकै खेर जान्थ्यो । तर अहिले एक दान टिमुर पनि वोटमा रहन दिन्न ।’ कुनै वेला टिमुरका बोटहरु फाडेर सखाप वनाउनु भएका कामी अहिले भने व्यवसायिक टिमुर खेतीमा जुटनु भएको छ । उहाँको ४ रोपनी जग्गामा टिमुर खेती छ । बारीमा भएका  ५ सय ५० बोटहरु मध्ये ४ सय ५० वटाले फल दिन थालि सकेका छन भने वाकी साना छन । यो वर्ष उहाँले ढाई क्वीन्टल टिमुर वेचेर १ लाख ३७ हजार रुपैया कमाउनु भयो । हरेक वर्ष टिमुरको मुल्य बढदै गएको छ उहाँले भन्नुभयो, ‘गतवर्ष ४ सय रुपैया केजीमा बेचेको टिमुर यो वर्ष ५ सय ५० रुपैयामा बेचे । कसैले ६ सय ५० रुपैयामा पनि बेचे ।’
जडीबुटीको रुपमा पनि प्रयोग हुने टिमुर खेतीको विस्तार र बजारीकरणको लागि उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले सहयोग गरेको थियो । झाप्राको खलटाकुरामा रहेको त्रिवेणी सामुदायिक कृषि उपभोक्ता सहकारी संस्थामार्फत आयोजनाले किसानलाई टिमुर खेती गर्न प्रेरित गरिरहेको छ । सहकारी संस्थामा आवद्ध कामीले टिमुर टिप्ने भर्याङ्ग, सिकेचर पंञ्जा, त्रिपाल, चाल्नु, टिम्मुर सुकाउने सोलार ड्रायर घर निर्माण, विरुवा उत्पादन प्रविधि, वगैचा व्यवस्थापन तथा बजारीकरण सम्वन्धी तालिम पाउनु भएको थियो । बोटबाट नटिप्दै माग आउने गरेको छ । पहिला भाउ नपाएर नुनसँग साटिन्थ्यो उहाँले भन्नुभयो, ‘आयोजनाले गर्दा टिमुरको महत्व बुझियो । पैसा दिने बुटा रहेछ । बल्ल थाहाँ भयो ।’
आयोजनाको सहयोगपछि व्यवसायिक रुपमा टिमुर खेती सुरु गर्नु भएका उहाँले गतवर्ष ३ क्वीन्टल बेच्नु भएको थियो । गतवर्ष २ सय ७० रुपैयामा बेचेको टिमुरको भाउ यसपाली बढेर ५ सय ५० रुपैया पुगेपछि उहाँ थप उत्साहित हुनु भएको छ । गत असार महिनामा १ सय ५० विरुवा लगाउनु भएको थियो । कुनै वेला टिमुरको फाडेर फालेको बताउने उहाँ अहिले भने जंगलमा टिमुरका विरुवा देख्न वित्तिकै बारीमा ल्याएर रोप्नु हुन्छ । उहाँको टिमुरको बारी नै छ । पहिला पहिला कमाउन गएपछि मात्र पैसा हुन्छ भन्ने लाग्थ्यो तर अहिले टिमुर स्याहार्न वित्तिकै पैसा आउन थालेको छ उहाँले भन्नुभयो । टिमुरबाट आम्दानी लिन थालेपछि पैसाको अभाव भएको छैन । छोराछोरी पढाउनेदेखि घरखर्च चलाउने अनि दुखी विरामी हुँदा उपचार गर्ने सवै टिमुरकै आम्दानीबाट हुने गरेको छ ।  ४२ वर्षिय भद्र कामीको ६ जनाको परिवार छ । ३ छोरी र एक छोरा छन । जेठी छोरी भुमिका ६ कक्षामा, जेठो छोरा ललित ४ कक्षामा, महिली छोरी कमला १ कक्षामा  पढ्छन । 
गाउँकै राम माध्यामिक विद्यालयमा कार्यालय सहयोगी समेत रहेका कामीले टिमुर खेतीलाई व्यवसायिक रुपमा अघि बढाउने योजना बनाउनु भएको छ । उच्च मुल्य कृषि वस्तु विकास आयोजनाले सहयोगको साथै व्यापारीसँग पनि किसानको सम्वन्धी जोडि दिएको छ । त्यसैले टिम्मुर विक्री गर्न समस्या छैन । व्यापारीवीच प्रतिस्पर्धा हुने भएकोले आफुहरुले उत्पादन गरेको टिमुरको मुल्य वषेनी बढदै गएको पनि उहाँले बताउनु भयो । विदेशमा गएर अर्काको गुलामी गर्नुभन्दा आफ्नै गाउँमा केही गर्नुपर्ने बताउनु हुन्छ । टिमुर खेती गरेपनि फल दिनेवेला सम्म मात्र दुख हुन्छ त्यसपछि पैसै पैसा हुन्छ । टिमुर खेती थालेपछि समाजले पनि विश्वास गर्न थालेको उहाँले अनुभव गर्नु भएको छ । प्रकाश पन्त/HVAP