News and Events

‘बुढेसकालमा तन्नेरी जाँगर’

सुर्खेतको बराहताल गाउँपालिका – १० सिमलचौरका ६४ बर्षिय ससबहादुर सिजाली उहाँकी ६५ बषिया श्रीमति नन्दकली सिजाली यतिवेला कृषि कर्ममा रमाउनु भएको छ । उमेरले नेटो काट्नै लागेपनि उहाँहरुको जोस र जाँगर यूवाको भन्दा कम छैन । ६/७ वर्ष अघिदेखि तरकारी लगाउन सुरु गर्नु भएका सिजाली दम्पतिले ३ वर्षदेखि भने व्यवसायिक तरकारी खेतीमा नंग्रा खियाउदै आउनु भएको छ ।
 
दम्पतीको मेहेनत देखेर प्रशंसा नगर्ने कोही छैनन् । उनीहरु गाउँलेहरुको लागि प्रेरणाका स्रोत पनि बनेका छन । उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको सहयोगमा व्यवसायिक तरकारी खेतीमा लागेका सिजाली दम्पति तरकारीबाट राम्रो आम्दानी लिन सफल भएका छन । सानैदेखि खेती किसानी गरियो तर पेट पाल्ने काम बाहेक प्रगति गर्न सकिएन ससबहादुरले भन्नुभयो, ‘तरकारी खेती गर्न थालेपछि अहिले वर्षमा डेढ/दुई लाख रुपैया कमाउँछौ । यति आम्दानी यो भन्दा अघि कहिल्यै भएन ।’
बेलुका तरकारी टिपेर राख्ने अनि विहानै ५/६ बजे तिर डोकामा तरकारी ल्याएर बीरेन्द्रनगर बजारमा बेच्दै आउनु भएको छ । उहाँहरुले तरकारी बेच्ने पालको लगाउनु भएको छ । तरकारी बेच्न कुनैदिन श्रीमान कुनैदिन श्रीमति बजार आउनु हुन्छ । बजार पुग्न सिमलचौरदेखि डेढ घण्टा लाग्छ नन्दकलीले भन्नुभयो, ‘तरकारी बढी भएको दिन गाडी वोलाउछौ थोरै भएको दिन डोकामा लैजान्छौ ।’सिजाली दम्पतीले मौसमी तथा बेमौसमीका तरकारी लगाएका छन । काउली, बन्दा, टमाटर, लसुन, भेडेखोर्सानी, धनियाँ लगायतका तरकारीका बारीमा लगाइएको छ । ताजा तरकारी बजारमा लिने भएकोले विक्रीको समस्या छैन । बजारका रहेको पुजा मण्डीलाई उनीहरुले तरकारी दिन्छन । मण्डीसँग अग्रिम संझौता भएपनि मण्डीमा लैजादा÷लैजादै बाटोबाटै अरुले तरकारी किन्ने गरेको उनीहरुले बताउँनु भयो । 
जनचेतना कृषक समुहलाई उच्च मूल्य कृषि वस्तु विकास अयाोजनाले बेमौसमी तरकारी खेतीमा सहयोग आयोजनाको सहयोगले यो दम्पतिलाई व्यवसायिक रुपमा तरकारी खेती गर्न प्रेरणा मिलेको थियो । पहिला घरमै खानको लागि मात्र तरकारी लगाउथ्यौ नन्दकलीले गरेको थियो  । कृषक समुहमा आवद्ध ससबहादुरलाई आयोजनाले बेमौसमी तरकारी खेतीको लागि टनेल बनाउन सहयोग गरेको थियो । भन्नुभयो, ‘एचभीएपीको सहयोगपछि ३ वर्षदेखि बेच्ने गरी तरकारी लगाउदै आएका छौ । समुहले एउटा टनेल दियो, हामीले अर्को टनेल आफै बनायौ । अहिले फेरी फलामको टनेल पाएका छौ । एकदमै खुशी छौ ।’  
व्यवसायिक तरकारी खेतीसँगै सिजाली दम्पतीले एउटा भैसी र १५ वटा बाख्रा पनि पाल्नु भएको छ । यो सवै दुई जनाले मात्र धान्दै आउनु भएको छ । ५ सन्तानका बाबुआमा भए पनि सबै आ–आफ्नो बाटो लागेकोले बुढाबुढी एक्लै हुनुहुन्छ । ३ भाई छोरा र २ बहिनी छोरी छन । तर अहिले घरमा कोही पनि छैनन् । जेठो छोरा नेपाली सेनाबाट रिटार्यर भएर बीरेन्द्रनगर – १ सोलीघोप्टेमा कुखुरा पालन गरेको छ । माइलो छोरा नेपाली सेनामा जागिरे छ । कान्छो छोरा  ११ कक्षामा पढ्दै छ । छोरीहरु आ–आफनो घरमा छन । 
छोराछोरीको भर परेर मात्र हुदैन उहाँहरु भन्नुहुन्छ, ‘हातपाखुरी चल्दासम्म आफैले मिहिनेत गर्ने हो, चल्न छाडेपछि छोरीछोरीको कमाई खाने हो ।’ आर्थिक अभावको कारण छोराछोरीलाई धेरै पढाउन सक्नु भएन । अहिले भने खासै आर्थिक अभाव छैन उहाँहरुले भन्नुभयो, ‘सवैले एसएलसी पाससम्म गरे । आर्थिक समस्याले त्यो भन्दा माथी पढाउन सकिएन । तर अहिले पहिलेको जस्तो आर्थिक समस्या छैन कान्छा छोराले जति पढन सक्छ पढाउने विचारमा छौ ।’ 
उहाँहरुले टनेलभित्र र बाहिर रहरलाग्दो तरकारी फलाउनु भएको छ । गाउँकै अगुवा र नमुना किसान सिजाली दम्पति परिश्रम गरे सुखका दिनहरु आउने बताउँनु हुन्छ । बुढेसकालमा पनि चौबिसै घण्टा खटेर काम गर्ने बुढाबुढी अहिलेसम्म भेटेको छैन जनचेतना कृषक समुह सिमलचौरका अध्यक्ष दुर्गबहादुर लामिछानेले भन्नुभयो, ‘सिजाली दम्पति गाउँलेका प्रेरणाका स्रोत बन्नु भएको छ । उहाँहरुवाट प्रभावित भएर अरु गाउँले पनि व्यवसायिक रुपमा तरकारी खेतीमा जुटका छन ।’
विरामी पर्दा कुनै वेला सिजाली दम्पतिले साहुबाट सयकडा ४ प्रतिशत व्याजमा ऋण ल्याएर चलाउनु भएको थियो । अहिले उहाँहरु तरकारीको आम्दानीको केही रकम गाउँकै ४ वटा समुह÷सहकारीमा हरेक महिना बचत गर्नुहुन्छ । तरकारीकै आम्दानीले बीरेन्द्रनगरमा केही जग्गा जमिन पनि किन्नु भएको छ । ४०/५० वर्षमा गर्न नसकेको आम्दानी ३ वर्षमा गरेको सिजाली दम्पतिले बताउनु भयो । हात पाखुरा चल्ने बेलासम्म चलाउनु पर्छ । अर्काको भर पर्नु हुदैन । परिश्रम गरे सुखका दिनहरु चाडै भेटिने भएकोले लगानसिल र इमानदार भएर परिश्रम गर्न सिजाली दम्पति सुझाव दिनुहुन्छ । (प्रकाश पन्त /HVAP)