News and Events

‘मिहिनेत गरे सजिलै सफलता प्राप्त गर्न सकिन्छ’

दैलेखको दुल्लु नगरपालिका–१२ लमस्तडाका ५८ वर्षिय पदमप्रसाद दाहाल व्यवसायिक तरकारी खेतीमा जुटनु भएको छ । तरकारीबाट राम्रो आम्दानी गर्न सफल उहाँले उच्च मूल्य कृषि वस्तु विकास आयोजनाबाट तरकारी खेती गर्ने प्रेरणा मिलेको बताउनुभयो ।आयोजनाले लमस्तडाका कृषकलाई वेमौसमी तरकारी खेती गर्न सहयोग गरेको छ । 
बाख्रापालन छाडेर तरकारीमा हात हाल्नु भएका दाहालले तरकारीबाट वर्षमा २ लाख रुपैया आम्दानी गदै आउनु भएको छ । तरकारी खेती थालेपछि जीवनमा ठुलो परिवर्तन आएको अनुभव गर्नु भएका उहाँ तरकारी खेती भित्याउने  लमस्तडा गाउँकै पहिलो किसान पनि हुनुहुन्छ । पहिलो पटक १ हजार ३ सय रुपैयाको तरकारी बेच्नु भएका उहाँले भन्नुभयो ‘मिहिनेत गरे सजिलै सफलता प्राप्त गर्न सकिन्छ ।’ 
विगतमा कोहीपनि बेच्ने गरी तरकारी लगाउदैन्थे । घरमा खानाको लागि मात्र तरकारी लगाउने चलन थियो दाहालले भन्नुभयो, ‘आयोजनाको सहयोगमा टनेल बनाएर तरकारी लगाउन थाल्यौ । आयस्तर पनि वृद्धि भयो । बाख्रा र तरकारीको आम्दानीको हिसाव गर्दा ५० प्रतिशत फरक भयो ।’ ४ वर्ष भारतको बम्बैमा मजदुरी गर्नु भएका उहाँले अर्काको देशमा दासको रुपमा काम गर्नु भन्दा आफनै देशमा केही गर्नु पर्छ भन्दै गाउँ फर्किनु भएको थियो । गाउँ फर्केपछि सुरुमा बाख्रापालन गर्नु भएका दाहालले तरकारीको माग बढेपछि तरकारी खेती थालेको बताउँनु भयो ।
छोटो समयमै राम्रो आम्दानी गर्न सफल दाहालले छोराबुहारीलाई उच्च शिक्षासम्म पढाउनु भएको छ । उहाँका सवै छोरा बुहारी जागिरे छन । तरकारीकै आम्दानीले छोराबुहारीलाईे डिग्रीसम्म पढाए उहाँले भन्नुभयो, ‘एउटा  छोराबुहारी काठमाडौमा छन । एउटा छोरा गाउँकै माविमा शिक्षक छ बुहारी सुर्खेतमा लेखापाल छन ।’  
बारीभरी रहर लाग्दो तरकारी लगाउनु भएका दाहाल लमस्तडा गाउँमा तरकारी लगाउने पहिलो किसान पनि हुनुहुन्छ । उहाँकै प्रेरणाले गर्दा अरु गाउँले पनि  व्यवसायिक रुपमा तरकारी खेती गर्न जुटेका छन । विगतका कठिन दिनहरु सम्झदै उहाँले भन्नुभयो ‘ कुनै बेला मिठो खाने, राम्रो लागाउने सपनामै सिमित हुन्थ्यो तर अहिले त्यस्तो छैन।’ अहिले पैसाको समस्या छैन । समस्या पर्दा अरुलाई सहयोग गर्छु अरुले पनि सजिलै  पत्याउँछन । दाहालको खेतवारीमा सिजन अनुसार वन्दा, काउली काँक्रा, फर्सी लगायतका तरकारी फल्ने गर्छन भने प्लास्टिक घर भित्र वेमौसमी टमाटर लगाएको देख्न पाइन्छ । उहाँले अहिले अभावका दिनहरु टरेको अनुभूति गर्नु भएको छ । (प्रकाश पन्त/ HVAP)