News and Events

‘सहयोगपछि समृद्धितर्फ’

जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका–४ लहँकी माया रावललाई २ वर्षअघिसम्म घरखर्च चलाउन निकै हम्मेहम्मे पथ्र्यो । आयआर्जन नहुँदा घरखर्च चलाउन समस्या भएपछि मायाका श्रीमान दानबहादुर कालापहाड जानु हुन्थ्यो । तर बाख्रापालन व्यवसाय थालेपछि अहिले मायाको जीवनमा ठुलो परिवर्तन आएको छ । दुवै जना बाख्रापालनमै लाग्नु भएको छ ।गाउँकै नागरिक कृषि तथा पशुपालन सहकारी संस्थामा आवद्ध मायालाई उच्च मुल्य वस्तु विकास आयोजनाले बाख्रापालनको लागि सहयोग गरेपछि अहिले उहाँको अवस्था फेरिएको हो । अहिले मायाले पालेका बाख्राले आँगन भरिसकेको छ । उहाँ आजभोली तीनै बाख्राको स्याहार सुसारमा व्यस्थ हुनुहुन्छ । बाख्रा बेचेर आएको पैसाले घरखर्च चलाउदै आउनु भएको छ । पैसाको लागि ऋण सावट गर्नु परेको छैन, मायाले भन्नुभयो, बाख्रा पालेरै छोरालाई पढाएकी छु । 
बाख्रा थालेपछि छोराछोरी पढाउन र घरखर्च चलाउन निकै सजिलो भएको छ, मायाले भन्नुभयो, आयोजनाले २८ हजार रुपैया अनुदान दिएको थियो, त्यो रुपैयाले आधुनिक खोर निर्माण गरे । पहिल पनि बाख्रा त पालेकै थियौ तर कसरी पाल्ने थाहाँ थिएन, तालिम लिएपछि सवै कुरा थाहाँ भयो, हामीले त बाख्रा पाल्न र फाइदा लिन जानेकै रहेनछौ । आयोजनाले बाख्रा पाल्न प्रेरणा मात्र दिएको छैन, कसरी बाख्रा पाल्ने अनि फाइदा कसरी लिने भनेर ज्ञान पनि दिएको छ । यो वर्षमात्र १७ वटा खसीबोका बेचे । पहिले भन्दा अहिले बाख्रा पनि राम्रा छन ।
स्थानीय खरी जातको बाख्रा पाल्दै आउनु भएकी लहँकै उर्मिला सिंह पनि आधुनिक खोर निर्माण गरेर बाख्रा पालनमा जुटनु भएको छ । पाठापाठी, माउ, खसी र बोकालाई छुट्टाछुट्टै राख्ने गरी बनाइको खोर निर्माण गर्न उहाँलाई आयोजनाले २७ हजार रुपैया अनुदान दिएको थियो । व्यवस्थित खोर भएकाले विगतको जस्तो बाख्रामा रोग लागेको छैन, सिंहले भन्नुभयो, ‘खसी बाख्रा बिक्री गर्न बजारको पनि समस्या छैन । खोरमै खसीबोका किन्न ग्राहक आउँछन ।’ 
नागरिक कृषि तथा पशुपालन सहकारी संस्थामा आवद्ध नानीकला कामीले पनि फोहर सालवाट व्यवसायिक रुपमा बाख्रापालन गदै आउनु भएको छ । बाख्रापालन व्यवसायवाट राम्रो आम्दानी गदै आउनु भएकी उहाँले पनि खोर बनाउँन १९ हजार रुपैया पाउनु भएको थियो । त्यो रुपैयावाट खोर वनाए, उहाँले भन्नुभयो, खोर नहुँदा घरको कोठभित्र राखेर पाल्थ्यौ, अहिले आधुनिक खोरमा राख्न थालेपछि बाख्रालाई रोग पनि लागेको छैन । आयोजनाले आयआर्जन गर्ने प्रेरणासँगै लगानी गर्ने रकम पनि दियो, त्यसैले सवै गाउँका दिदीवहिनीहरु नयाँ तरिकाले बाख्रा पाल्न कसिएका छन, उहाँले भन्नुभयो ।बाख्रापालन गर्न थालेपछि पहिलाको जस्तो अहिले पैसाको अभाव छैन, थाप्लाकी हैकली कामीले भन्नुभयो, दुख कम अनि बढी फाइदा हुने देखेर गाईभैसी पाल्न छोडेरव्यवसायिक रुपमै बाख्रा पाल्न थालेका छौ । दुईवर्ष अघिबाट बाख्रा पाल्न थाल्नु भएकी हैकलीले, बाख्राकै आम्दानीवाट जेठो छोरालाई चीतवनमा तीन वर्षे कृषि विषय पढाउनु भएको छ । नागरिक कृषि तथा पशुपालन सहकारी संस्था मार्फत आयोजनाले खोर सुधारको लागि रकम दिएको र त्यही पे्ररणाले गर्दा आफु बाख्रापालन व्यवसातर्फ आर्कषित भएको पनि उहाँले बताउनु भयो । 
गतवर्ष त्रिवेणी नलगाड नगरपालिका –४ भातचिउराका मकरबहादुर रावलका २ दिनभित्र ११ वटा बाख्रा मरे । पिपीआर रोगले बाख्रा मरेपछि उहाँलाई बाख्रा पाल्ने जागर मरेर गयो । खोरमा बाख्रा सकिएपछि निराश बन्नु भएका उहाँको खोरमा अहिले १६ वटा बाख्रा छन । आयोजनाको सानो सहयोगले मेरो सोचाईमा परिवर्तन आयो । फेरी बाख्रा पाल्न थाले विगत कोट्याउँदै भन्नुभयो, बाख्रापाल्ने तरिका नजान्दा समस्या भयो, अहिले धेरै कुरा थाहा पाइसके अव बिगत दोहोरिदैन । बाख्रापालक किसानले आफ्नो बारीमा उन्नत जातको घाँस  लगाएका छन । उन्नत जातका बोकाहरु ल्याएका छन । सचेतना पनि बढेको छ । तालिम पाएपछि उनीहरु धेरै सजक भएका छन । ‘बाख्रामा कुनै समस्या देखिए परामर्शका लागि तुरुन्त सेवा केन्द्र आउँछन– सेवा केन्द्र दल्लीका प्राविधिक लालबहादुर ओलीले भन्नुभयो–‘धेरै समस्या भए घरमै बोलाउछन ।’
४ वर्ष अघि स्थापना भएको नागरिक कृषि तथा पशुपालन सहकारी संस्थाले लहँका किसानलाई बाख्रापालन गर्नको लागि हौसला दिदै आएको छ । संस्थाकै पहलमा आयोजनाले दुर्गम गाउँमा गएर किसानलाई सहयोग गरेको थियो । किसानहरुलाई आत्मर्भिर बनाउने उदेश्य राखेको सहकारी संस्थाले आयोजनाको सहयोगपछि धेरै किसान बाख्रापालनमा जुटेको बताएको छ । सहकारी संस्थाले व्यवसायिक रुपमा बाख्रा पाल्दै आएका किसानलाई प्रोत्साहन गर्नुपर्ने, उन्नत जातका बाख्रापालन गर्न खोज्नेलाई सस्तो सहयोग गर्नुपर्ने , उनीहरुलाई तालिम दिनुपर्ने, बजारीकरणमा सहयोग गर्नुपर्ने र बाख्रापालन व्यवसाय विस्तार गर्नको लागि सस्तोमा ऋणको व्यवस्था गर्नुपर्ने सहकारी संस्थाका सचिव कमान ओलीले बताउनु हुन्छ ।