News and Events

‘संर्घषपछिको सफलता’

घरको आथिक अवस्था कमजोर थियो । व्यापार व्यवसाय गर्ने पैसा थिएन । परिवार पाल्न कठिन भएपछि दैलेखको नारायण नगरपालिका –२ जारकोटका ५६ वर्षिय सर्वराज भण्डारीले १८ वर्षअघि तरकारी खेती सुरु गर्नुभयो । उहाँले २०५६ सालमा २५ किलो आलुको वीउ किनेर लगाउनु भएको थियो । ५ सय रुपैया लगानी गरेर पहिलो पटक आलुबाट २ हजार रुपैया कमाउनु भएको उहाँले भन्नुभयो, ‘तरकारी खेती गर्ने जग्गा थिएन । छिमेकीको जग्गा भाडाँमा लिएर तरकारी खेती सुरु गरेको थिए । पहिलो पटक नै आलुबाट राम्रो फाइदा भएपछि व्यवसायिक रुपमै तरकारी खेती गर्ने निर्णयमा पुगेको थिए ।’ 
त्यतिवेला जारकोट गाउँमा चन्द्रबहादुर थापाले तरकारी खेती गर्नुहुन्थ्यो । तरकारी खेती गर्ने उहाँ गाउँकै पहिलो किसान पनि हुनुहुन्थ्यो । उहाँकै सल्लाह अुनसार भण्डारीले तरकारी खेती सुरु गर्नु भएको थियो । विगत सम्झदै उहाँले भन्नुभयो, ‘परिवार पाल्न समस्या भएपछि  थापाको सुझाव अनुसार तरकारी खेतीमा हात हाले । सुरुमै राम्रो आम्दानी भयो । त्यसपछिका वर्षहरु एकपछि अर्कोगदै तरकारी खेती विस्तार गदै गए ।’
त्यतिवेला घरमै खानको लागि मात्र तरकारी लगाउने चलन थियो । अहिलेको जस्तो बजार थिएन, होटेलहरु पनि खुलेका थिएनन् । तरकारी खाने चलन पनि थिएन । त्यसैले तरकारी पनि विक्री हुदैन्थ्यो । २०५६ सालतिर दैलेख बजारमा श्यामनाथ योगीले होटेल खोल्नु भयो । योगी र भण्डारी मिल्ने साथी हुनुहुन्थ्यो । त्यसैले उहाँहरुवीच एउटाले तरकारी उत्पादन गर्ने अनि अर्कोले किन्ने संझौता भयो । त्यसपछि भण्डारीलाई तरकारी विक्री गर्न  समस्या पनि भएन । धेरै संर्घष र चुनौतिका चाङहरु छिचोल्दै अहिलेको अवस्थामा आइपुगेको पनि उहाँले बताउनु भयो ।
४ वर्षसम्म जग्गा भाडामै लिएर उहाँले तरकारी खेती गर्नुभयो । तरकारीको आम्दानीले नै २०६० सालमा भाडामै लिएको १२ रोपनी जग्गा भण्डारीले ३ लाख रुपैयामा किन्नुभयो । १८ वर्षदेखि व्यवसायिक रुपमा तरकारी खेती गदै आउनु भएका उहाँले अहिले १५ रोपनी जग्गामा बेमौसमी तरकारी र ३ रोपनीमा अदुवा÷बेसार लगाउनु भएको छ । उहाँले बन्दा, काउली, टमाटर, भेन्टा, खुर्सानी, लौका, करेला, काँक्रा, साग, धनिया, लसुनको खेती गदै आउनु भएको छ । उहाँले दैलेख बजारमा रहेका नारायण तरकारी पसल, बम फलफुल तथा तरकारी मन्डी र ऋर्तिक तरकारी पसललाई बेच्नु हुन्छ ।
दैलेख जिल्लाकै नमुना कृषक भण्डारीले तरकारी खेतीबाट वर्षेनी मनग्य आम्दानी गदै आउनु भएको छ । तरकारी बेचेर उहाँले गतवर्ष मात्र ११ लाख रुपैया आम्दानी गर्नुभयो । उहाँले भन्नुभयो, ‘गतवर्ष १४÷१५ लाख रुपैया आम्दानी गर्ने लक्ष्य थियो तर असिनापानीले तरकारीमा क्षेति पुर्याएकोले सोचे अनुसारको आम्दानी भएन ।  असिनापानीले क्षेति गरेन, भने यो वर्ष १४÷१५ लाख रुपैया आम्दानी पुग्छ होला ।’
तरकारीको आम्दानीबाट भण्डारीले सुर्खेतमा घरेडी किन्नु भएको छ भने  दैलेखमा २५ रोपनी जग्गा किन्नु भएको छ । उहाँले बैसाखदेखि असोज÷कार्तिकसम्म सिमी, वोडी, चिचिन्डा, काँक्रा, लौका जस्ता लहरे तरकारी र कार्तिक÷मंसिरदेखि चैत्र ÷बैसाखसम्म काउली बन्दा, टमाटर लगाउनु हुन्छ । तरकारीमा सिचाईको गर्ने पाइप किन्ने पैसा नहुँदा कुनै वेला अरुलाई जमानी राखेर पाइप किन्नु भएका उहाँले अहिले आफुले सिकेको ज्ञान र सीप अरु किसानलाई बाँडदै आउनु भएको छ । पहिला पैसा चाहिएको वेला कसैले पत्याउदैन्थे, अहिले सवैले आशा गर्छन । अप्ठ्यारो पर्दा छरछिमेकलाई सहयोग गर्छु । अहिले सवैको विश्वास जितेको छु, उहाँले भन्नुभयो । 
तरकारी खेतीमा दैलेखकै उत्कृष्ट किसानको रुपमा चिनिदै आउनु भएको उहाँले २०७१ सालमा राष्ट्रपति पुरस्कार पाउनु भएको थियो । भण्डारी आफ्नो सफलताको श्रेय श्रीमति खगिसरालाई दिनुहुन्छ । तरकारी खेती गरेर अहिलेको अवस्थामा आइपुग्न श्रीमतिको ठुलो प्रेरणा छ उहाँले भन्नुभयो, ‘श्रीमतिको सहयोग नपाएको भए, सायद यो  सफलता प्राप्त गर्न कठिन हुन्थ्यो ।’ भण्डारीले आफनो एक्लो छोरा रोहितलाई पनि व्यवसायिक तरकारी खेतीमै लगाउनु भएको छ । रोहितले पनि बुवालाई तरकारी खेती गर्न सघाउँदै आउनु भएको छ । घरपरिवारको साथ पाएकै कारण भण्डारीले तरकारी व्यवासायलाई अझ विस्तार गर्ने सोच बनाउनु भएको छ । त्यसको लागि उहाँले यो वर्ष आयुष तरकारी फर्म समेत दर्ता गर्नु भएको छ । 
बेमौसमी तरकारी खेती गर्न उच्च मूल्य कृषि वस्तु विकास आयोजनले उहाँ आवद्ध रहेको सहकारीलाई अनुदान सहयोग गरेको छ । जारकोटमा रहेको करलेआवत कृषक समुहमा आवद्ध भण्डारीले आयोजनाले तरकारी व्यवसायीसँग सम्वन्ध स्थापित गरेको पनि बताउनु भयो । आयोजनाले सम्वन्ध स्थापना गरेपछि तरकारी विक्रीमा समस्या भएको छैन ।  आयोजनाले समुहलाई १३ लाख ५७ हजार रुपैया अनुदान सहयोग गरेको थियो । समुहले  आयोजनाको सहयोगमा सिचाई पोखरी निर्माण, प्लाष्टिक सिट, मल्चिङ्ग प्लाष्टिक, टनेल हाउस, डिजिटल तराजु, क्रेट, स्प्रेयर, झारी, बीउ खरिदमा सहयोग, प्राविधिक सेवा खरिद गरेको थियो । 
आयोजनाले सिचाई निर्माण गरिदिएपछि तरकारीबाट दोब्बर आम्दानी लिन सफल भएको भण्डारीले बताउनु भयो । २०७२ साल भन्दा अघि ७ लाख भन्दा बढी आम्दानी हुदैन्थ्यो तर सिचाई निर्माण भएपछि २ वर्षभयो दोव्वर आम्दानी हुन थालेको छ । निरन्तर प्ररिश्रम गरे दुखपछि अवश्य सुख आउँछ भन्दै उहाँले मिहिनेत गरे आफनै खेतवारीमा मनग्य आम्दानी गर्न सकिन उल्लेख गर्नुयभो । स्वदेशमा काम पाइएन भन्दै विदेश जानेलाई सुझाव दिदै उहाँले भन्नुभयो दुख सुख गरे गाउँमै सुन फलाउन सकिन्छ विदेश जानुपदैन । विदेशमा बनाउने पसिना स्वदेशमै बगाए नाम र दाम दुवै हुन्छ । तरकारी खेतीलाई व्यसायिक रुपमा अघि बढाउन सरकारले किसानलाई नयाँ नयाँ प्रविधिमा सुविधा, सस्तो ऋण र अनुदान सहयोग गर्नुपर्ने उहाँको भनाई छ । प्रकाश पन्त (HVAP)