News and Events

बेसार खेतीबाट दोब्बर आम्दानी गदै विपन्न कृषक

मकै र घैया धान लगाउने खेतवारीमा बेसार खेती गर्दा राम्रो आम्दानी भएपछि सुर्खेतको भेरीगंगा नगरपालिका –११ चुकेतालका किसान उत्साहित भएका छन । विगतमा घरको लागि मात्रै बेसार लगाउदै आएका उनीहरु उच्च मुल्य कृषि वस्तु विकास आयोजनाको सहयोगपछि अहिले व्यवसायिक वेसार खेतीमा जुटेका छन । थोरै मिहिनेत र कम लगानीबाट चाडो फाइदा लिन सकिने भएकोले बेसार खेती थालेको किसानहरुले बताए । स्थानीय किसान गौरी विक भन्नुभयो,–‘२ वर्ष अघिसम्म वर्षमा हजार सय रुपैया पनि कमाई थिएन । तर गतवर्ष ४० किलो बेसार बेचेर ३ हजार ५ सय रुपैया कमाए ।’ 
 
दलित समुदायको बाहुल्यता रहेको चुकेताल बस्तीका किसानलाई बेसार खेतीको लागि आयोजनाले एक लाख ५२ हजार रुपैया अनुदान दिएको थियो । आयोजनाले दिएको रकमले चुकेताल फलफुल तथा कृषक समुहले किसानलाई बेसारको बीउ खरिद गरी वितरण गरेको थियो । समुहका अध्यक्ष गोर्वद्धन बस्नेतले आयोजनाको सहयोगपछि अहिले ४० जना किसानले व्यवसायिक रुपमै बेसार खेती गरेको बताउनुभयो । चुकेताल बस्तीका अतिविपन्न किसानले मकै र घैया धान भन्दा बेसारवाट धेरै फाइदा लिन थालेका छन । बेसारवाट एकजना किसानले वर्षमा ३ हजारदेखि १० हजार रुपैयासम्म आम्दानी गर्ने गरेको बस्नेतले उल्लेख गर्नुभयो ।  
हिउँदमा केही पनि लगाउदैन्थ्यौ । जग्गा बाँझै राख्थ्यौ । वर्षमा मकै र घैया धान बाहेक केही हुदैन्थ्यो स्थानीय किसान खले सुनारले भन्नुभयो, ‘बेसार लगाउन थालेपछि राम्रो आम्दानी भएको छ । बेसार खेती गर्न थालेपछि वर्षदिन यता कोही पनि पैसा कमाउन कालापहाड गएको छैन । आयोजनाले बेसार खेती गर्न सिकायो त्यसैले म जस्ता न्युन आय भएका किसानको जीविकोपार्जनको लागि बेसार खेती बरदान सावित भएको छ ।’
आयोजनाको सहयोगपछि चुकेताल बस्तीका किसानले बेसारबाट ५ लाख रुपैया आम्दानी गरेको समुहका अध्यक्ष बस्नेतले बताउनु भयो । बारीमा अन्नबाली भन्दा बेसार जस्तो नगदे बाली लगाउँदा देव्बर आम्दानी लिन चुकेतालका किसानको अनुभव छ । पहिले–पहिले चुकेतालका अधिकाश बासिन्दा कामको लागि भारत जान्थे । कतिपय काम खोज्दै नजिकै रहेको छिन्चु, रामघाट बजारमा पुग्थे । पहिलो कुरा उनीहरुले गतिलो काम नै पाउदैन्थे । काम पाएपनि पैसा हुदैन्थ्यो । तर अहिले घरपरिवारसँगै बसेर बेसार खेती गरिरहेका छन । बेसारवाट राम्रो आम्दानी गर्न सकिने भएकोले आउने वर्षहरुमा यसलाई अझ विस्तार गर्ने सोचाईमा चुकेतालका किसान पुगेका छन ।
गरिवी समावेशीकरण कोष मार्फत आयोजनाले चुकेताल फलफुल कृषक समुहमा अति विपन्न ३२ जना सदस्यलाई सहयोग गरेको छ । समुहमा २७ जना दलित, २ जना जनजाति र ३ जना क्षेत्री छन । गतवर्ष चुकेतालबाट ४२ क्वीन्टल बेसार प्रतिकिलो १५ रुपैयामा बिक्री भएको थियो । यसपाली २५ रुपैयामा बेच्ने योजनामा उनीहरु छन । पहिले घरमै खानको लागि मात्र लगाउथ्यौ अहिले बेच्ने गरी लगाउँछौ । मकै र घयौ धान घरमै खान पुग्दैन्थ्यो, बेसार लगाउन थालेपछि घरखर्च चलाउन र छोराछोरी पढाउन सहयोग पुगेको छ उनीहरुले भने उच्च मुल्य  कृषि वस्तु विकास अयोजनाको सहयोग थप हौसला मिलेको छ । त्यसैले आगामी वर्षहरुमा बेसार खेतीलाई विस्तार गर्ने सोचमा छौ ।
चुकेतालमा बेसार खेतीका लागि सिँचाइको सुविधा छैन । सिचाई सुविधा नहुँदा दुख अनुसारको बेसार उत्पादन नभएको किसानहरुको गुनासो छ । उनीहरुले सानो आकारको गानो लाग्ने र बोट मात्रै ठुलो हुने समस्या रहेको उनीहरुले बताए । उत्पादिनत बेसार वेच्न किसानहरुलाई खासै समस्या छैन । नजिकै रहेको कुशे मिनरल एण्ड हर्वल उद्योगले उनीहरुले उत्पादन गरेको बेसार किन्छ । गतवर्ष अग्रिम संझौता गरेपनि यसपाली उद्योगसँग अग्रिम संझौता नभएको किसानहरुले बताए ।