News and Events

‘मिहिनेत गरे आफ्नै खेतबारीमा पैसा फल्ने रहेछ’

सुर्खेतको गुर्भाकोट नगरपालिका –६ केरेनीका मोतिराम ओलीले कालापहाड ( कामको लागि भारत) गएको बेला बीउ मात्र उत्पादन गरेको देख्नुभयो । बीउ बेचेरै लाखै आम्दानी गरेको देखेका उहाँले घरफर्केपछि बीउ उत्पादन सुरु गर्नुभयो । कालापहाडमा सिकेको ज्ञान यतिवेला ओलीको लागि जीवन चलाउने बलियो आधार बनेको छ । बीउ उत्पादन थालेदेखि कालापहाड जानु परेको छैन उहाँले भन्नुभयो, ‘बीउ बेचेरै वर्षेनी दुई÷तीन लाख रुपैया कमाउँछु ।’
उहाँले २०५५ सालमा २५ किलो प्याजको गाना रोपेर बीउ उत्पादन थाल्नु भएको थियो । पहिलो वर्ष उत्पादन भएको १२ किलो बीउ प्रतिकिलो २ सय ८० रुपैयामा बेच्चु भयो । त्यसपछिका वर्षहरुमा उहाँले बीउ उत्पादन बढाउदै जानु भयो । गतवर्ष उहाँले प्याजको बीउ मात्रै १ सय १३ किला  बेच्नुु भयो ।  धान, गहँु, मकै रोप्ने खेतवारीमा बीउ उत्पादन गरेको देखेपछि सुरुसुरुमा गाउँलेहरु पनि चकित परे । कतिपयले त धान, गहँ लगाउन छाडेर के खान्छस् पनि भने विगत सम्झदै उहाँले भन्नुभयो, त्यसपछि गाउँलेलाई पनि मेरो सिको गर्न थाले । मैले पनि उनीहरुलाई बीउ उत्पादन गर्न सिकाए । अहिले केरेनीमा हामी २४÷२५ घरले व्यवसायिक रुपमै बीउ उत्पादन गदै आएका छौ । 
बीउमा सुर्खेतकै नमुना किसान ओली ३ वर्ष अघिबाट व्यवसायिक रुपमै बीउ उत्पादनमा जुटनु भएको छ । ३ रोपनी जग्गामा बीउ उत्पादन गर्नु भएका उहाँले बीउको आम्दानीबाटै ४ जना छोराछोरीलाई पढाउनु भयो । घरखर्च चलाउनको लागि २०५५ सालसम्म कालापहाड जाने÷आउने गर्ने उहाँ १९ वर्षदेखि कालापहाड पनि जानु भएको छैन । पहिले आयस्रोत पनि केही भएन, गाउँमा पनि काम पाइदैन्थ्यो, परिवार पाल्नको लागि कालापहाड नगई हुदैन्थ्यो ओलीले भन्नुभयो, ‘बीउ उत्पादन थालेपछि कालापहाड गएको छैन । कालापहाडमा रातदिन काम गरेर घर फर्किेने वेला ६ महिनामा ३०÷४० हजार रुपैया हुन्थ्यो । अहिले बीउ बेच्दा वर्षमा ३ लाख रुपैयासम्म आम्दानी हुन्छ । मिहिनेत गरे आफनै खेतबारीमा पैसा फल्ने रहेछ ।’ 
 
बीउ उत्पादन गर्नेको संख्या बढदै गएपछि उहाँले नौलो विहानी बीउ उत्पादन समुह पनि गठन गर्नु भयो । समुहलाई व्यवसायिक रुपमा बीउ उत्पादन गर्नको लागि  उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले सहयोग गर्यो । आयोजनाको सहयोग गरेपछि व्यवसायिक रुपमै बीउ उत्पादनमा जुटेका गाउँलेको आम्दानी तेव्वरले बढेको ओली बताउनु हुन्छ । आयोजनाले बीउ उत्पादनको लागि सिचाई कुलो निर्माण, मूल वीउ खरिद, चाल्नो सेट, थ्रेसर मेसिन, बोरा, डिजिटल वेइङ मेसिन, बोरा सिलाउने मेसिन, सुपो, कैंची, प्राविधिक तालिममा सहयोग गरेको छ । सिचाईको सुविधा भएपछि  बीउ उत्पादन ३०÷४० केजीवाट बढेर १ सय १५ किलोमा पुगेको पनि उहाँले बताउनु भयो ।
आफुहरुले उत्पादन गरेको बीउ विक्रीको समस्या नभएपनि उचित मुल्य पाउन नसकेको उहाँलाई लागेको छ । हावाहुरी, किरा, असिानापानीबाट बीउलाई बचाउन निकै कठिन हुन्छ । कुनै वर्ष त असिनापानी र हावाहुरीले मुलबीउ पनि आउदैन ।  चिसोेको समयमा ढुसी, फुल्ने बेला किरा र छिप्पी सक्यो भने हावाहुरीले फाल्ने डर हुन्छ । हावाहुरी, असिना पानी र किराबाट जोगाउन सक्यो भने बल्ल फाइदा हुन्छ उहाँले भन्नुभयो । 
बीउ बेचेर राम्रो आम्दानी गर्न सफल उहाँले प्याज, रायो, काउली, मुला लगायतका बिभिन्न जातका विरुवाको बीउ उत्पादन गर्नु हुन्छ । गतवर्ष प्याजको बीउ प्रतिकिलो  ११ सय रुपैयामा बेचेका ओली देशमा रोजगारी छैन भनेर धेरै युवाहरु पैसा कमाउन खाडी मुलुक जाने गरेको देख्दा दुःख लाग्ने गरेको बताउनु हुन्छ ।  उहाँले भन्नुभयो, ‘बिदेशमा बगाउने पसिना गाउँमै बगाउने हो भने साँझ बिहान परिवारसँगै बसेर राम्रो आम्दानी गर्न सकिन्छ ।’
नौलो विहनी बीउ उत्पादन समुहमा आवद्ध केरेनी गाउँका किसानले वर्षेनी १० क्वीन्टलसम्म बीउ बेच्दै आएका छन । त्यसको प्रेरणाका स्रोत अगुवा किसान मोतिराम ओली नै हुनुहुन्छ । उहाँले धान, मकै, गहुँ मात्र खेती गर्दा वर्षदिनसम्म पुर्याउन धौ धौ पर्ने किसानलाई बीउ उत्पादन सिकाएर आयस्तर बृद्धिमा सहयोग गर्नुभयो । त्यसैले अहिले केरेनी गाउँका किसानलाई आफनै खेतबारीमा उत्पादन गरेको बीउले वर्षभरी खान लगाउन पुग्छ ।उनीहरुले उत्पादन गरेको बीउ मेहलकुनामा रहेको पवित्र कृषि सहकारीले खरिद गदै आएको छ । सहकारीले किसानबाट खरिद गरेको बीउलाई प्याकिङ्ग गरेर बाहिर निर्यात गर्छ ।  प्रस्तुति प्रकाश पन्त