News and Events

तरकारी बेचेरै छोरा इन्जिनियर, छोरी स्टाप नर्स

भेरी नगरपालिका –११ की कालुदेवी पुनमगर जाजरकोटकै नमुना कृषक हुनुहुन्छ । व्यवसायिक तरकारी खेती गदै आउनु भएकी उहाँले तरकारी बेचेर मनग्य आम्दानी गरिरहनु भएको छ । कालुदेवीले साढे ४ रोपनी जग्गा मध्ये एक रोपनीमा आँप खेती र साढे  ३ रोपनी जग्गामा बाह्रै महिना तरकारी खेती गर्नु हुन्छ । तरकारी खेतीबाट बर्षमा ३÷४ लाख रुपैया आम्दानी गर्दै आएको कालुदेवीले बताउनु भयो । 
नमुना लक्ष्मी महिला कृषक समुहकी अध्यक्ष कालुदेवीले उच्च मुल्य कृषि वस्तु विकास आयोजना सुर्खेतले व्यवसायिक तरकारी खेती गर्न थप हौसला र उत्प्रेरणा दिएको बताउनु भयो । आयोजनाले टनेलमा तरकारी खेती गर्नको लागि प्लाष्टिक, ढक तराजु, तरकारी खेतीमा सिंचाई गर्नका लागि कुलो निर्माण गरि दिएको बताउनु भयो । आयोजनाको सहयोगपछि तरकारी खेतीवाट दोव्वर आम्दानी गर्न सफल भएको पनि उहाँले जानकारी दिनुभयो । 
 
 
सानोमा कालुदेवीको पढेर सरकारी जागिर खाने सपना थियो । सानो छदाँको त्यो सपना ४८ बर्षिया पुनको पुरा हुन सकेन । जागिर खाने सपना सपनै भयो । आफनो पढने सपना पुरा नभएपनि उहाँले छोराछोरीलाई भने राम्रो शिक्षा दिनुभयो । तरकारी बेचेरै छोरा–छोरीलाई पढाउनु 
भएको छ । जाजरकोटकै नमुना कृषक कालुदेवीले भन्नुभयो, ५ बर्षको उमेरमा गाउँकै प्राथमिक विद्यालयमा भर्ना भए । २ कक्षामा पढदै गर्दा पढन छाडे । उतिवेला छोरीलाई पढाउने चलनै थिएन, त्यसैले पढ्ने चाहाना हुँदाहुदै पनि पढान सकिन । बुवा आमाले पनि पढाउन सक्नु भएन । त्यसैले पढने चाहाना अधुरै भयो ।
 
१५÷१६ वर्ष अघिसम्म कालुदेवीको परिवारलाई घरखर्च चलाउन निकै मुस्किल थियो । आर्थिक समस्य बढ्दै गएपछि उहाँले तरकारी खेती सुरु गर्नुभयो । सुरुसुरुमा त धेरै आम्दानी गर्न सकिएन । विस्तारै विस्तारै तरकारी खेती बढाउदै लगे त्यसपछि आम्दानी पनि बढन थाल्यो । त्यसपछि दुखका दिनहरु सकिदै गए, उहाँले भन्नभयो, केही उपाय नचलेपछि तरकारी खेती सुरु गरेकी थिए, अहिले तरकारीबाट राम्रो आम्दानी भैइरहेको छ । त्यसैवाट  छोराछोरी पढाउने देखि सवै खर्च टरेको छ । 
मौसमी तथा बेमौसमी तरकारी लगाउदै आउनु भएकी उहाँले छोरा मोतिरामलाई इन्जियिनर र छोरी कुशुमलाई स्टाप नर्स पढाउनु भयो । कालुदेवि तरकारीको आम्दानीवाट छोरा–छोरीलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु जीवनकै सवैभन्दा ठुलो सफलता र उपलव्धी ठान्नुहुन्छ । उहाँले काउली, बन्दा, टमाटर, काँक्रा, सिमी, आलु लगायतका तरकारी खेती गर्नुहुन्छ । तरकारी वेच्नलाई समस्या छैन उहाँले भन्नुभयो, पहिलो जस्तो तरकारी वेच्न दुखपनि छैन, अहिले घरमै तरकारी लिन आउछन, पहिलाको जस्तो डोको बोकेर घरघरमा तरकारी किन्नु हुन्छ  कि भनेर जानु पदैन ।