News and Events

उद्योगी रामकृष्ण चौलागाईको समृद्धिको यात्रा

हार्डवयरको पसल छाडेर स्याउ प्रशोधन उद्योग खोलेका रामकृष्ण चौलागाईले गतवर्ष दश लाख रुपैया कमाउनु भयो । जुम्लाको सदमुकाम खलंगामा रहेको उहाँको आरके स्याउ प्रशोधन तथा डिष्ट्रीलरी उद्योगले गतवर्ष एक करोडको कारोवारो गरेको थियो । सवै खर्च कटाएर दश लाख रुपैया आम्दानी भयो उहाँले भन्नुभयो,  यो वर्ष ३० लाख रुपैया आम्दानी हुने अपेक्षा लिएको छु ।
जुम्लाको स्याउ बजार नपाएर खेर गइरहेको देखेर स्याउ प्रशोधन उद्योग खोल्नु भएका चौलागाईले उद्योग खोल्दा यति आम्दानी होला भन्ने सोच्नु भएको थिएन । सडक पुगेपछि जुम्लाको स्याउ बिक्ने अवस्था नभएपछि स्याउलाई सदुपयोग गर्न रक्सी उद्योग खोले उहाँले भन्नुभयो, अहिले स्याउको वाइनको  मागलाई पुरा गर्न सकेको छैन । यसको सवैभन्दा बढी माग काठमाडौमा छ । त्यसैले उत्पादनको ८० प्रतिशत वाइन काठमाडौमै जान्छ । 
 
बजार अभावले गर्दा जुम्लामा सि र डि ग्रेडका स्याउ धेरै खेर जान्थ्ये । सरकारले स्थापना गरेको स्याउ प्रशोधन केन्द्रबाट तालिम लिनु भएका चौलागाईले सी र डि ग्रेडका स्याउलाई सदुपयोग गर्न २०६७ सालमा  उद्योग खोल्नु भएको थियो । माग बढ्दै गएपछि लगानी पनि थप्दै गए । अहिले उद्योगमा ४ करोडको लगानी भैइसक्यो । अझै डेढ करोड रुपैया लगानी लाग्छ । बारीमा फलेको स्याउ नबिकेर हैरान भएका किसानलाई उद्योगले ठुलो राहात दिएको छ । अहिले किसानलाई स्याउ विक्री गर्न कुनै समस्या छैन, उद्योगसँग अग्रिम संझौता हुन्छ । उनीहरुले भनेकै मुल्य  पाएका छन । त्यसैले किसान पनि सन्तुष्ट छन उहाँले भन्नुभयो । 
 
 
 
 
 
उद्योगले यो वर्ष १ सय ५० टन स्याउ खरिद गरेको थियो । त्यसमध्ये केहीको वाइन, ब्राण्डी, स्वाइस, जुस, चाना बनेको छ । बाकी केही स्याउ किसानसँग र केही स्याउ सेलार स्टोरमै छ । यो वर्ष उद्योगले ४० रुपैया किलोमा स्याउ खरिद गरेको थियो । जुम्लामा उत्पादन हुने स्याउको ब्राण्डीको माग अत्याधिक बढेको छ । आर्गनिक भएकोले ब्राण्डीको माग बढ्दै गएको हो । ब्राण्डको साथै वाइन, स्क्वाइस र जुसको माग पनि उत्तिकै बढेको संचालक चौलागाईले बताउनु भयो । जुम्लाको स्याउलाई प्रशोधन गरेर ब्राण्डी, वाइन, स्क्वाइस र जुस बनाइन्छ । 
जुम्लाको सदरमुकाम खलंगामा रहेको उद्योगले गतवर्ष ४० हजार लिटर वाइट, ३० हजार लिटर ब्राण्डी, १० हजार लिटर जुस, १० हजार लिटर स्क्वाइस उत्पादन गरेको थियो । उद्योगले २ टन स्याउका चाना पनि बेचेको संचालक चौलागाईले उल्लेख गर्नुभयो । गतवर्ष उद्योगले १ करोड रुपैयाको कारोवारो गरेकोमा यो वर्ष त्यो कारोवारो बढेर ३ करोड पुग्ने पनि उद्योग संचालक चौलागाईले बताउनु भयो । एक बोतल ब्राण्डीको ८ सयदेखि २ हजार, वाइनको ४ सयदेखि १ हजार, स्क्वाइसको सय रुपैया, जुसको डेढसय रुपैयामा बिक्री हुदै आएको छ । 
उद्योगमा अहिलेसम्म ४ करोड रुपैया लगानी भैइसकेको छ । उद्योग संचालनको लागि उच्च मुल्य कृषि वस्तु विकास आयोजनाले ५० लाख रुपैया अनुदान सहयोग गरेको चौलागाईले बताउनु भयो । उद्योगमा अहिले १० जना कार्यरत छन भने  प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरै जनाले रोजगारी पाएका छन । रक्सी बनाउन स्याउलाई वर्षभरी जोगाएर राख्नुर्पर्छ । कोल्ड स्टोर नहुँदा स्याउ जोगाएर राख्न कठिन छ ।
 
 
 
जुम्ला जस्तो ठाउँमा उद्योग संचालन गर्न निकै कठिन छ । बत्तिको समस्या छ । दाउरा पाइदैन। दक्ष कामदारको अभाव छ । महिनाको एकलाख रुपैया दिएपनि दक्ष कामदार आउन मान्दैनन् । ढुवानीको समस्या छ । बोतल ल्याउन, लैजान पनि उत्तिकै समस्या हुन्छ । सडक राम्रो नभएकोले बीचमै फुटर खेर जान्छन । धेरै चुनौतिका वीच उद्योग संचालन गरेपनि राज्यले भने कुनै सहयोग नगरेको गुनासो चौलागाईले गर्नुभयो । उहाँले भन्नुभयो, अन्तशुल्क, कर, भ्याट गरी वर्षमा राज्यलाई २०÷२५ लाख रुपैया तिछु तर राज्यबाट एक रुपैया पनि सहयोग पाएको छैन । औद्योगिक नीति अनुसार राज्यले अन्तशुल्क, आयकर छुट दिएको भएपनि हुन्थ्यो, उद्योगले खेर गैइरहेको कच्चा पदार्थलाई सदुपयोग गरेको छ । यस्तो अवस्थामा राज्यले प्रोत्साहन दिनु पर्ने हो तर दिएको छैन उहाँले गुनासो गर्नुभयो । 
एकजना किसानले उद्योगलाई २०÷२५ किलोदेखि ३०÷४० टनसम्म स्याउ बेच्ने गर्छन । एकजना किसानले उद्योगलाई १५ लाख रुपैयासम्मको स्याउ बेच्ने गरेका छन । अहिलेसम्मको आम्दानी जति सवै उद्योगमै खचै गरेको बताउने चौलागाईले अझै डेढ करोड रुपैया गर्नु पर्ने बताउनु भयो । उद्योगको लागि आवश्यक अटोमेटिक फिलिङ्ग, क्यापिङ्ग, क्रस फ्लो, आरोप्लान्ट जस्ता मेसिन तथा उपकरण ल्याउन बाकी नै छ । उद्योगले अहिले दैनिक ८ सय लिटर व्राण्डी उत्पादन गदै आएको छ ।