News and Events

‘आयोजनाले व्यवसायिक रुपमा बाख्रापालन गर्ने प्रेरणा दियो’

तुर्माखाँद गाउँपालिका–४ जैसुर अछामका लोकेन्द्र बयक व्यवसायिक बाख्रापालक कृषक हुन । गाउँकै विश्व माविका शिक्षक बयकले तीन वर्षअघि राजीनामा दिएर बाख्रापालनमा लागे । अहिले उनी वार्षिक दुई लाख भन्दाबढी बचत गर्छन । उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको सहयोगमा उनले व्यवसायिक रुपमा बाख्रापालन थालेका हुन । 
‘स्थानीय स्रोतमा पढाउँथे, महिनामा ६र७ हजार पाइन्थ्यो, अहिले बाख्रापालन व्यवसाय थालेपछि मासिक तेब्वरले आम्दानी बढेको छ’ बयकले भने, ‘अहिले महिनाकै २०र२५ हजार रुपियाँसम्म कमाई गर्दै आइरहेको छु ।’ सुरुमा शिक्षकको जागिर छोडेर बाख्रा पाल्दैछु भन्दा गाउँलेले उनलाई ‘बौलाहा’ भने । अहिले उनीहरुकै प्रेरणा बनेका छन, बयक ।
प्रगतिशिल कृषक समूहमा आवद्ध लोकेन्द्रको फार्ममा अहिले ५५ वटा बाख्रा छन । बाख्रापाल्न थालेपछि विभिन्न क्षेत्रबाट सहयोग पनि पाउँदै आएका छन् । प्रगतिशिल कृषक समूहले उच्च मूल्य कृषि बस्तु विकास आयोजना सुर्खेतबाट १३ लाख ४७ हजार रुपियाँ अनुदान प्राप्त र्गयो । बाख्रापालन समूहमा आवद्ध बयकले आयोजनाले अनुदान दिएको मध्ये आधुनिक खोर निर्माणका लागि २९ हजार रुपियाँ प्राप्त गरे ।
‘आयोजनाको सहयोगले मलाई व्यवसायिक रुपमा बाख्रापालन गर्ने प्रेरणा दियो’ उनले भने, ‘शिक्षक पेशा भन्दा बाख्रापालन मेरा लागि फापेको छ ।’ बाख्राबाट उनको आम्दानी वर्षेनी बढिरहेको छ । बाख्रापालेरै तीन छोराछोरीलाई गाउँकै निजी विद्यालयमा पढाइरहेका छन । समस्या परेका गाउँलेलाई बयक आर्थिक सहायता पनि गर्दै आएका छन ।
गएको बैशाखयता मात्रै उनले खसीबोका, पाठापाठी गरेर २० वटा विक्री गरिसकेका छन । बाख्रापालन व्यवसायलाई अझ विस्तार गर्ने सोच उनले लिएका छन । यसका लागि उनले ग्रामिण पशु सेवा कार्यकर्ताको तालिम लिएका छन । आयोजनाको सहयोगमा तुर्माखाँदका किसानहरुले आधुनिक बाख्राका खोर निर्माण, नश्ल सुधारका लागि उन्नत बोका खरिद, डाले तथा भुँई घाँसखेती, बाख्रापालन, घाँसखेती नर्सरी व्यवस्थापन र बजारीकरण सम्वन्धी तालिम, आन्तरिक र वाह्य परिजीवी नियन्त्रणको लागि डिपिङ्ग टंकी निर्माण र प्राविधिक सेवा पनि खरिद गरेका छन ।